काठमाडौं - साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामको ‘सायबाह’ तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको ज्यान गएको छ ।
परराष्ट्र मन्त्रालयले बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत घटनाको पुष्टि गर्दै नेपाली नागरिकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो ।
मन्त्रालयका अनुसार बुधबार सायबाह तेल क्षेत्रलाई लक्षित गरी प्रहार गरिएको ड्रोनलाई साउदी सुरक्षा प्रणालीले आकाशमै नष्ट गर्दा त्यसका भग्नावशेष खसेर ती नेपाली कामदारको दुःखद निधन भएको हो ।
परराष्ट्र मन्त्रालयले मृतकका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै घटनामा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरी गरिने जुनसुकै प्रकारका आक्रमणको नेपालले स्पष्ट शब्दमा निन्दा गर्ने मन्त्रालयले दोहोर्याएको छ ।
आफ्नो सैद्धान्तिक अडानलाई पुनः पुष्टि गर्दै नेपालले संवाद, वार्ता र कूटनीतिक माध्यमबाटै जुनसुकै विवादको शान्तिपूर्ण समाधान खोज्न समेत सम्बद्ध पक्षहरूलाई आह्वान गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार साउदी अरेबियाको पूर्वी प्रान्तमा अवस्थित उक्त तेल क्षेत्रमा भएको सो घटनामा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको छ भने एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन् । मृतक नेपालीको विस्तृत परिचय खुलाइएको छैन ।

