काठमाडौं - नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाको आयोजनामा गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको सम्झनामा काठमाडौंमा शोकसभा तथा दीप प्रज्वलन कार्यक्रम भएको छ।
कार्यक्रममा इन्द्रावती गाउँपालिकाका नेपाली कांग्रेसका नेता, पदाधिकारी, जनप्रतिनिधि तथा पूर्वजनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. केदारनरसिंह केसीले नुवाकोट र रसुवामा बाढीका कारण भएको जनधनको क्षतिबारे विस्तृत जानकारी गराउँदै प्रभावित परिवारप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरे।
त्यस्तै, कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य शिव सुनारले बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिदै। विपद्को समयमा पीडित परिवारलाई आवश्यक सहयोग र राहत उपलब्ध गराउन राजनीतिक दल तथा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता वंशालाल तामाङ, इन्द्रावती गाउँपालिकामा रहेका नेपाली कांग्रेसका पदाधिकारी, जनप्रतिनिधि तथा पूर्वजनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो।

