Harsamaya
बाढीमा विदुर–१ का ८५ नागरिक गुमाएपछि वडा अध्यक्ष रञ्जितको अपिल : ‘यो दुःखको घडीमा सबै एकजुट बनौँ’
वडा अध्यक्ष लेनिन रञ्जित ।

नुवाकोट - रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विदुर नगरपालिका–१ को त्रिशूली बजार तथा ढुङ्गे बजार क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीमा वडा नं. १ का ८५ जना नागरिकलाई गुमाउनुपरेको भन्दै वडा अध्यक्ष लेनिन रञ्जितले दुःख व्यक्त गरेका छन्।

वडा अध्यक्ष रञ्जितले सामाजिक सञ्जालमार्फत सम्पूर्ण वडावासीलाई सम्बोधन गर्दै बाढीबाट ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

उनले बाढीबाट प्रभावित ४८३ घरधुरीका परिवारको सुरक्षित व्यवस्थापनका लागि विदुर नगरपालिका–८ स्थित भैरम माध्यमिक विद्यालय तथा इन्द्रेणी आधारभूत विद्यालय (बाद्रे नर्सरी) मा होल्डिङ सेन्टर स्थापना गरी आवश्यक व्यवस्था गरिएको जानकारी दिएका छन्।

राहत तथा पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन प्रभावितलाई तीन वर्गमा विभाजन गरिएको छ। रातो कार्ड पूर्ण वा आंशिक रूपमा घर क्षति भई बस्न अयोग्य भएका परिवार, निलो कार्ड बाढीबाट प्रभावित व्यवसायी र पहेँलो कार्ड कोठा भाडामा लिएर जीविकोपार्जन गर्दै आएका प्रभावित परिवारलाई दिइएको छ।

रञ्जितका अनुसार राहत वितरण निरन्तर भइरहेको छ। रातो कार्ड प्राप्त परिवारलाई विदुर नगरपालिकाको तर्फबाट कोठा भाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने तथा प्रत्येक परिवारलाई छ महिनासम्म आवश्यक पर्ने आधारभूत घरायसी तथा राहत सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको छ।

वडा अध्यक्ष रञ्जितले विपद्को यस कठिन घडीमा सम्पूर्ण वडावासीलाई धैर्य, एकता र सहयोगका साथ अघि बढ्न आग्रह गर्दै स्थानीय सरकार सधैँ प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १८:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update