Harsamaya
सरकार पूर्ण असफल भइसक्यो : डा. सिके राउत
जनमत पार्टी अध्यक्ष डा.सिके राउत ।

जनकपुर - जनमत पार्टी अध्यक्ष डा.सिके राउतले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका छन् ।

अग्रगामी मोर्चाद्वारा शनिबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै डा.राउतले रास्वपा नेतृत्वको सरकार हरेक दृष्टिकोणले असफल भइसकेको उल्लेख गरे । 

भाषणमा विदेशबाट नेपाली फर्काउने कुरा गरेको सरकारले विगत चार महिनामा तीन लाख नेपाली विदेश गएको तथ्यमाथि विचार गर्नुपर्ने डा.राउतको भनाई थियो । स्वास्थ्य बीमा रोकेर सरकारले जनतालाई दुःख दिन खोजेको डा.राउतले बताए । 

सीमानाकाबाट एक दर्जन केरा ल्याउँदा पनि रोक्ने सरकारको नीतिको डा. राउतले घोर निन्दा गरे । कसैले सामाजिक सञ्जालमा सरकारको नराम्रो गतिविधिको विरोध गरे तुरुन्त पक्राउ गर्न लगाउने जस्ता कार्यले सरकार पूर्ण असफल भइसकेको प्रमाणित भएको डा. राउतले बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले विगतमा ठूलो गल्ती गरेका स्वीकारे । उनले पदको लोभमा मुल लक्ष्यबाट आफूहरु भट्किएको बताए । 

उनले मधेशवादी पार्टी तथा नेताहरुले आफ्नो गल्ती स्वीकार्दै अब एकजुट भएर अन्तिम सडक आन्दोलनमा होमिने जानकारी दिए । यादवले छठ पर्वपछि पुनः एक पटक सडक आन्दोलन गर्ने बताए । 

प्रधानमन्त्री बालेन्द्र साहले ‘बल्गर मधेश’ बनाउने भाषण गरेपनि ६ महिना भन्दा बढी भइसक्दा पनि संविधान संशोधनको कुरा विर्सेको अध्यक्ष यादवले सरकारको आलोचना गरे । उनले जनसंख्याको आधारमा बजेट बिनियोजन हुनुपर्ने र संविधान संशोधन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाबाट २ हजार बढी नेता, कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १८:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update