सुर्खेत - डोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य शे–फोक्सुन्डो गाउँपालिकामा भ्रमणको लागि गएका ६ भारतीय पर्यटक अत्यधिक हिमपातपछि सम्पर्कविहीन भएका छन् । दुई महिला र चार पुरुषसहित ६ जना भारतीय पर्यटक उच्च हिमाली क्षेत्रका पासमा सम्पर्कविहीन भएका हुन् ।
शे–फोक्सुन्डो गाउँपालिका–८ स्थित नुमला पास र वागला पास क्षेत्रमा उनीहरू सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् । नेपाल भ्रमणमा आएका उनीहरू रिग्मोस्थित फोक्सुन्डो ताल जाने क्रममा सम्पर्कविहीन भएका हुन् ।
स्थानीयले दिएको सूचनापछि उनीहरूको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ । तर, लगातारको हिमपात र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । उनीहरू सुरक्षित स्थानमा छन् वा हिमपातका कारण बाटोमै रोकिएका हुन् भन्नेबारे यकिन विवरण प्राप्त हुन सकेको छैन ।
हिमपातले खोजी तथा उद्धारमा चुनौती
डोल्पाका उच्च हिमाली क्षेत्रमा शनिबारदेखि हिमपात भइरहेको छ । शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका उच्च क्षेत्रमा हिमपात भएको छ भने तल्लो डोल्पामा वर्षा भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
लगातारको हिमपातले उच्च क्षेत्रका पदमार्ग र आवागमन प्रभावित भएको छ । नुमला र वागला पासजस्ता उच्च हिमाली क्षेत्रमा हिउँ जम्दा आवतजावत कठिन हुने भएकाले पर्यटकको अवस्थाबारे जानकारी लिन र उद्धार टोली परिचालन गर्न चुनौती थपिएको छ ।
पहिल्यै जारी गरिएको थियो पदयात्रामा रोक
मौसम प्रतिकूल हुने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय डोल्पाले माथिल्लो डोल्पामा पदयात्रामा रोक लगाएको थियो । प्रशासनले कात्तिक १२ गतेदेखि उच्च जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न आग्रह गर्दै जोखिमपूर्ण स्थानमा रहेका पर्यटकलाई सुरक्षित ठाउँमा बस्न भनेको थियो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार माथिल्लो डोल्पाका विभिन्न पर्यटकीय क्षेत्रमा २४४ जना पर्यटक पुगेका थिए । तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक थिए ।
सम्भावित हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले पर्यटकको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायलाई समन्वय गर्न आग्रह गरेको थियो । पर्यटक तथा पदयात्रा व्यवसायीलाई प्रतिकूल मौसममा जोखिमपूर्ण यात्रा नगर्न पनि भनिएको थियो ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उच्च क्षेत्रमा पुगिसकेका पर्यटकको अवस्थाबारे जानकारी संकलन गर्ने र आवश्यक परे उद्धार तथा राहतका लागि तयारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, सुरक्षा निकाय, स्वास्थ्य संस्था र स्थानीय तहसँग समन्वय गरेर उद्धार तथा राहतको तयारी अघि बढाएको जनाएको छ ।
फोक्सुन्डो ताल डोल्पाको प्रमुख पर्यटकीय गन्तव्य हो । समुद्री सतहदेखि करिब तीन हजार ६ सय मिटर भन्दा माथि रहेको फोक्सुण्डो ताल प्राकृतिक सौन्दर्य र हिमाली पदयात्राका कारण स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणमा पर्दै आएको छ । तर, उच्च हिमाली क्षेत्रमा मौसम एक्कासि परिवर्तन हुने र हिमपातले पदमार्ग अवरुद्ध पार्न सक्ने भएकाले पदयात्रा जोखिमपूर्ण बन्ने गरेको छ ।
सम्पर्कविहीन भएका ६ भारतीय पर्यटकको खोजी तथा उद्धारका लागि थप विवरण संकलन भइरहेको छ । - हेमन्त केसी

