Harsamaya
कार्यालयकै आँगनमा सार्वजनिक सम्पत्ति जीर्ण, संरक्षणमा गाउँपालिका बेखबर
ग्राफिक्स : हर समय/Har Samaya

सिन्धुपाल्चोक - नेपाल र तिब्बतबीचको ऐतिहासिक सम्बन्ध जोड्ने महत्वपूर्ण व्यक्तित्व राजकुमारी भृकुटीको सम्झनामा निर्माण गरिएको भृकुटी शान्ति तथा बालबालिका पार्क अहिले संरक्षण र सरसफाइको अभावमा जीर्ण बन्दै गएको छ।

इन्द्रावती गाउँपालिका कार्यालयकै छेउमा रहेको पार्क परिसरमा घाँस तथा झारपात बढेका छन्। बालबालिकाका लागि राखिएका ढिकीच्याउँ, पिङलगायतका खेल सामग्री मक्किएर जीर्ण अवस्थामा पुगेका छन्। पार्कको सौन्दर्यसमेत हराउँदै गएको छ।

पार्कको छेउमा रहेको सार्वजनिक शौचालय पनि प्रयोगविहीन अवस्थामा छ। शौचालयमा लगाइएका सिसा फुटेका छन् भने संरचना जीर्ण बन्दै गएको छ। त्यस्तै, पार्क प्रवेश गर्ने स्थानमा विगत केही महिनादेखि सुकेको रुख ढलेर थन्किएको छ। रुख ढल्दा पार्कको रेलिङमा समेत आंशिक क्षति पुगेको छ।

ऐतिहासिक महत्व बोकेको पार्कको यस्तो अवस्था हुँदासमेत नियमित सरसफाइ, ढलेको रुख हटाउने तथा क्षतिग्रस्त संरचना मर्मत गर्ने काममा गाउँपालिकाले चासो नदेखाएको स्थानीयको गुनासो छ।

स्थानीय उमेश अधिकारीले पार्कमा ढलेको रुख समयमै नपन्छाइएको भन्दै सम्बन्धित निकायप्रति प्रश्न उठाएका छन्। उनका अनुसार ढलेको रुख घरतर्फ परेको भए ठूलो क्षति हुन सक्थ्यो।

गाउँपालिकाको कार्यालय नजिकै रहेको पार्कमा जनप्रतिनिधि तथा कर्मचारीको नियमित आउजाउ हुने भए पनि ढलेको रुख पन्छाउने सामान्य कामसमेत नहुनु दुःखद भएको अधिकारीको भनाइ छ। 

उनले भने, ‘ढलेको रुख मेरो घरतिर आएको भए क्षति हुन्थ्यो। गाउँपालिकाको कार्यालय नजिकै छ, जनप्रतिनिधि र कर्मचारी आउजाउ गरिरहन्छन्, तर त्यहाँ ढलेको रुख पन्छाउने कामसमेत भएको छैन, आखिर किन?’

अधिकारीले पार्कमा सरसफाइको समेत पर्याप्त व्यवस्था नभएको गुनासो गरे। पार्कको उचित संरक्षण र सरसफाइमा ध्यान नदिँदा स्थानीयवासी अहिले पार्कमा प्रवेश गर्नसमेत हिच्किचाउने अवस्था आएको उनले बताए।

पार्कको संरक्षण, सरसफाइ तथा नियमित व्यवस्थापनमा स्थानीय सरकारको ध्यान जानुपर्ने उनको माग छ।

भृकुटीको सम्झनामा बनेको पार्क
राजकुमारी भृकुटी नेपालका लिच्छवी राजा अंशुवर्माकी छोरीका रूपमा इतिहासमा उल्लेखित छिन्। तिब्बती इतिहासमा उनलाई 'बाल-मो-ब्ज'का रूपमा चिनिन्छ भने तिब्बती राजा श्रङ चङ गम्पोसँग उनको विवाह भएको उल्लेख पाइन्छ। नेपालकी राष्ट्रिय विभूतिको रूपमा समेत चिनिने भृकुटीलाई 'बेसा' नामले पनि चिनिने गरिन्छ।

नेपाल र तिब्बतबीच सम्बन्ध विस्तारमा भृकुटीको महत्वपूर्ण भूमिका रहेको इतिहासमा उल्लेख छ। भृकुटी तिब्बत जाँदा इन्द्रावती नदी पार गर्दै थाकन ह्युल्सान, अर्थात् हालको नवलपुर क्षेत्र हुँदै गएको ऐतिहासिक स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले पार्क निर्माण गरिएको हो।

गाउँपालिका र पर्यटन मन्त्रालयको समन्वयमा १ करोड ३१ लाख १८ हजार ४ सय ३३ रुपैयाँ लागतमा भूकम्प पार्क र भृकुटी पार्क निर्माण गरिएको हो। तत्कालीन गाउँपालिका अध्यक्ष बंशलाल तामाङले २०७८ चैत १२ गते पार्कको अनावरण गरेका थिए।

ऐतिहासिक व्यक्तित्वको सम्झनामा निर्माण गरिएको तथा स्थानीय पर्यटनको सम्भावनासमेत बोकेको पार्क संरक्षणको अभावमा जीर्ण बन्दै जानुले यसको उद्देश्य र लगानीमाथि समेत प्रश्न उठाएको छ।

पार्कमा घाँस तथा झारपात हटाउने, ढलेको रुख तत्काल व्यवस्थापन गर्ने, जीर्ण खेल सामग्री र रेलिङ मर्मत गर्ने तथा सार्वजनिक शौचालय पुनः सञ्चालनमा ल्याउनेतर्फ गाउँपालिकाले तत्काल ध्यान दिनुपर्ने स्थानीयको माग छ।

गाउँपालिका कार्यालयकै छेउमा रहेको सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनमा गाउँपालिकाको ध्यान कहिले जाने?

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update