Harsamaya
पुष ४ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँबाट आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका बस्ने वर्ष ४२ का दीपेन्द्र अग्रवाल रहेका छन् । अनुसन्धानमा ४९ लाख बढीको शेयरमा झुटो कारोबार गरेको पाइएपछि आजै पक्राउ अनुमति लिई उनलाई आजै पक्राउ गरिएको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

सभापति रवि लामिछाने रिहा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा भएका छन् । शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर छुटेका हुन् ।बिहीबार उच्च अदालत तुलसीपुरको बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई ३ करोड ७४ लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

मुख्यमन्त्री यादवको पक्षमा शतप्रतिशत सांसद: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ सांसदले नै उनको पक्षमा मतदान गरेका हुन् ।बहुमतका लागि ५४ मत मात्र आवश्यक रहे पनि उनको पक्षमा शतप्रतिशत सांसदले विश्वासको मत दिए । नेपाली कांग्रेसका यादवलाई एमाले, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेपाली कम्युनिष्ट पार्टी, नेपाल संघीय समाजवादी, संघीय समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपालले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।

अध्यादेशभित्र यी विषय छन् समावेश: प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गर्दा पछिल्लो जनगणनाअनुसार गरिने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका हुन्। नेपाल सरकारले २०७८ को जनगणनाको प्रतिवेदनबमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची १ लाई संशोधन गर्न सिफारिस गरेको थियो ।

सहसचिवको एकैपटक सरुवा: ६० जना सहसचिवको एकै पटक सरुवा भएको छ।यही पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो । सरुवा सूचीअनुसार कमलप्रसाद भट्टराईलाई मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।यसैगरी कवीन्द्र नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

विपिनको शालिक बनाउने: प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा ज्यान गुमाएका कञ्चनपुरका २४ वर्षीय विद्यार्थी विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले शालिक स्थापना गर्ने निर्णय गरेको छ । स्वर्गिय विपिनको घर जाने सडक पूर्वपश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडकको मुख्य चोकको नाम विपिन जोशी चोक नामकरण गर्ने र सोही स्थानमा विपिनको शालिक निर्माण गर्ने कार्यपालिकाले निर्णय गरेको भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगन धामीले जानकारी दिए । उनका अनुसार शालिक निर्माणका लागि नगरपालिकाले दुई लाख बजेट विनियोजन गरिसकेको छ ।

‘एलिट वर्ग’ हाबी हुँदा सहकारीमा समस्या आयो: कोशी प्रदेश मातहत रहेका सहकारीहरूको नियमन समेत गर्ने निकाय प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिष्ट्रार भुपेन्द्र खनालले सहकारीमा एलिट वर्ग (जुन प्रभावशाली हुन्छ) हाबी हुँदा समस्या आइपर्ने गरेको बताएका छन् । नेपाल न्यूज बैंकसंगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । ‘सहकारीको वास्तविक मर्म गरिबी निवारण गर्नका लागि श्रमिक मजदुरहरूले चलाउने भन्ने हो । तर, समाजका एलिट बर्गले चलाएको पाइरहेका छौँ । हामीले यसको सिद्धान्तमा रहेर चल्ने बनाउन सक्नुपर्दछ ।’

साफ महिला क्लब च्याम्पियनसिप: साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा शनिबार एपीएफ फुटबल क्लब र भारतको इस्ट बंगालबीच प्रतिष्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ ५ बजे सुरु हुने एन्फाले जनाएको छ । फाइनल अघि दुबै टीमले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन तयार रहेको जनाएका छन् । फाइनलअघि शुक्रबार दशरथ रंगशाला आयोजित प्रि-म्याच कन्फरेन्समा एपीएफ फुटबल क्लबकी अनिता बस्नेतले फाइनल खेलका लागि टीम तयार रहेको बताए ।

ई–सिगरेट चुरोटजत्तिकै हानिकारक: पछिल्लो समय नेपालमा अधिकांश युवा पुस्ताले भेप अर्थात ई–सिगरेट अत्यधिक रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । भेपलाई चुरोटको विकल्पका रूपमा लिनका साथै सोख र फेसनका रूपमा पनि पिउँने गरेका छन् । तर धेरैजसो भेप पनि चुरोटजत्तिकै हानिकारक हुन्छ भन्ने विषयमा अनविज्ञ रहेको पाइएको छ । क्यान्सर विशेषज्ञ समीम अख्तरका अुनसार भेपले पनि हाम्रो स्वास्थ्यलाई चुरोटले जति नै असर गर्ने गर्दछ ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update