कञ्चनपुर - प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा ज्यान गुमाएका कञ्चनपुरका २४ वर्षीय विद्यार्थी विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले शालिक स्थापना गर्ने निर्णय गरेको छ ।
स्वर्गिय विपिनको घर जाने सडक पूर्वपश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडकको मुख्य चोकको नाम विपिन जोशी चोक नामकरण गर्ने र सोही स्थानमा विपिनको शालिक निर्माण गर्ने कार्यपालिकाले निर्णय गरेको भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगन धामीले जानकारी दिए । उनका अनुसार शालिक निर्माणका लागि नगरपालिकाले दुई लाख बजेट विनियोजन गरिसकेको छ ।
यसअघि भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विपिनको स्मृतिमा शालिक स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका ४९ विद्यार्थी दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । उनीहरु इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परेका थिए । हमासको आक्रमणमा परेर १० विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिनलाई बन्धक बनाइएको थियो । बन्धक बनाएकै अवस्थामा विपिनको निधन भएको हो ।
गत कात्तिकमा इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरणअनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले विपिनको शव हस्तान्तरण गरेको थियो ।

