चितवन - चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। आक्रमणमा परी मृत्यु भएका व्यक्तिको शव फेला परेको स्थाननजिकै रहेको बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२७ निवासी ४६ वर्षीय भीम महतो रहेका छन्।
प्रहरीका अनुसार २०८३ कात्तिक १७ गते दिउँसो २ बजे महतो चार जनाको समूहमा निउरो टिप्न गएका थिए। सोही क्रममा बाघले उनलाई आक्रमण गरी जंगलतर्फ लगेको थियो।
महतोसँगै गएका साथीहरूले घटनाबारे सोही दिन साँझ ५ः४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा जानकारी गराएका थिए।
घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको समन्वयमा खोजी कार्य सुरु गरिएको थियो।
खोजतलासका क्रममा कात्तिक १८ गते बिहान १०ः५५ बजे चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको प्रहरीले जनाएको छ।
शव फेला परेको स्थाननजिकै रहेको बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

