काठमाडौं - सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरुलाई नगदसहित सम्मान गरेको छ ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले घाइते भएका चार जना पत्रकारहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाललाई १ लाख, पत्रकार उमेश कार्की, दिपेन्द्र ढुङ्गाना र श्याम श्रेष्ठलाई जनही रु २५ हजार नगदसहित सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा मन्त्री खरेलले जेनजी आन्दोलनमा समाचार संकलन गर्ने क्रममा घाइते भएका पत्रकारलाई राज्यले न्याय गर्ने बताए । आफू सदैव सञ्चारकर्मीको साथमा रहेको भन्दै उनले घाइते पत्रकारहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने प्रतिवद्धता जनाए ।
मन्त्री खरेलले घाइते पत्रकारहरु रोजगारबिहीन भए पत्रकार महासंघले उनीहरुलाई कुनै नै कुनै सञ्चारमाध्यममा रोजगारीको पहल गर्नुपर्ने बताए । सो क्रममा घाइते पत्रकारहरुले आफूहरुलाई बिभेद नगर्न सरकारसँग आग्रह गरेका थिए ।

