बाल्यकालमा सुदूरकी चेली सरस्वती चौधरीको ठूला सपना केही थिएन । आफ्नै गाउँघरमा तन्दालाई पर्दा बनाएर नाटकहरू गर्थिन् । थारु समुदाय आफैंमा संस्कृतिले भरिपूर्ण समुदाय हो । उनले पनि समुदायको केही गुण लिएकी थिइन् । एसएलसी सकेसँगै गुरुकुलको सार्वजनिक आव्हानको विज्ञापन देखिन् । जे पर्ला पर्ला भन्दै उनले फर्म भरिन् । कम्प्युटरसम्म नदेखेकी उनले पहिलो पटक अनलाइन फर्म भरेकी थिइन् । त्यही फर्मले उनी सुदूरबाट काठमाडौं हानिइन् । अनि खुल्यो अभिनयको यात्रा । थिएटर आर्टिष्ट देखि निर्देशकसम्मको यात्रा चौधरीको लगन, मेहनत र परिश्रमले पाएको मिठो फल हो । उनी नाटकमै सुत्छिन्, नाटकमै उठ्छिन्, नाटकमै रमाउँछिन् । नाटकलाई आफ्नो जीवन बनाएकी उनले धेरै नाटकमा आर्टिस्ट भएर नाम र दाम कमाएकी छिन् । नाटकले नै जीवनयापन गरिरहेकी उनी कुनै पनि पेशा महिलाले गर्न नसक्ने भन्ने नभएको बताउँछिन् । महिलाले सक्दैनन् भन्ने हाम्रो समाजको सोच मात्रै रहेको उनको बुझाइ छ । उनी अहिले मण्डला थियटरले मञ्चन गर्न लागेको नाटक ‘बहादुरपुरको दन्त्यकथा’को निर्देशक छिन्। जीवनको उर्वर समय नाटकमै बिताएकी कलाकार तथा निर्देशक सरस्वती चौधरीसँग हर समयले गरेको कुराकानी ।
कसरी रंगमंचमा आउनु भयो ?
पहिला कम्युनिटी थिएटरहरु गर्थे । थारु कम्युनिटीबाट भएकोले गाउँतिर पलंग जोडेर, तन्दाको पर्दा लगाएर नाटक गरिन्थ्यो । स्कुलहरूमा पनि गर्थे । त्यसरी गर्दै गर्दा रहर लाग्न थाल्यो । एसएलसी (अहिलेको एसईई) सकिने बितिकै गुरुकुलले विज्ञापन खोलेको देखे । एक चोटी भरी हेरौंन भनेर भरे । त्यो समयमा कम्प्युटर नदेखेकी मैले अनलाइन फर्म भर्नु परेको थियो । एकदम ठूलो भुक्के वाला कम्प्युटरबाट अनलाइन फर्म भरेको थिएँ । गुरुकुलबाट सुनिल पोख्रेलले सेलेक्सन गरेर बोलाएपछि काठमाडौँ आएको हुँ ।
रंगमंचमा कतिको ‘इन्जोए’ गर्नु भएको छ ?
छ ! मलाई अरु काम आउदैंन । रंगकर्मी नै हो यसैमा जिन्दगी जान्छ होला । काम गर्दा ‘इन्जोए’ पनि गर्छु । मन नपरेको काम गर्दा थकाई लाग्ने, जाँगर नलाग्ने हुन्छ । तर, रंगकर्मको काम २४ सैं घण्टा गर्न सकिदो रहेछ । अहिले पनि म रिहर्सल गरिरहेको छु। बिहान १०-११ बजे देखि ७ बजे सम्म रिहर्सल भैरहेको छ । घर गएर स्क्रिप्ट हेर्ने, म्युजिक खोज्ने, लाइटको कुरा गर्ने भनेको २४ सैं घण्टा यहीँ विषयमा काम भैरहेको छ । काममा ‘इन्जोए’ गरी सकेपछि थकाई लाग्दैन रहेछ । इन्जोए नगरेको भए यो काममा पनि थकाइ लाग्थ्यो । राति सुतिरहेको बेला, त्यहाँ नेर डाइलग यस्तो बनाउन पर्छ होला ? त्यहाँ नेरको ब्लाकिंग चेन्ज गर्नुपर्छ होला भनेर माइन्डमा आइरहन्छ । २४ सैं घण्टा ‘माइन्ड’ले काम गरि रहेको छ । शरिरले काम गरि रहेको छ ।
गुरुकुलबाट मण्डलामा कसरी जोडिनु भयो ?
म गुरुकुलको मान्छे हो । ‘याक्टर’को रुपमा मण्डलामा मञ्जिरा नाटकमा जोडिएको थिए । टिचरको रूपमा पहिलो र दोस्रो ब्याचलाई टिचिङ गरे । अहिले चाहिँ ‘इन्भाईटेड डिरेक्टर’ भनेर काम गरिरहेको छु । १ वर्षको ‘प्लानिङ’ गरेर मण्डलाले मलाई ‘इन्भाइटेड डिरेक्टर’को रुपमा ‘इन्भाइट’ गर्यो । ‘इन्भाइटेड डिरेक्टर’ भएर बहादुरपुर्को दन्त्यकथा गरेको हो ।
प्रर्दशनको तयारीमा रहेको नाटक ‘बहादुरपुरको दन्त्य कथा’ खास के देखाउन खोज्नु भएको छ ?
यो बहादुरपुरको दन्त्य कथा भारतीय रंगकर्मी बादल सरकारले लेख्नु भएको नाटक हो । यो नाटकलाई नेपालीमा भावअनुवाद गरेका हौं। विजय विस्फोट दाइले भावअनुवाद गर्नु भएको हो । यो ‘सताएरिकल डार्क कमेडी’ नाटक हो। एकदमै धनी मान्छे वा राजा जसको अचल सम्पति अथाह छ, तर नगदमा छैन । उसलाई जीवनयापन गर्न गार्हो भइरहेको छ। ऋणले डुबेको छ । त्यो ऋण तिर्नलाइ घर बेच्न पाए अथवा जग्गा बेच्न पाए हुने। बेचेर सबै ऋण तिर्थे भनेर गरेको सबै प्लानिङहरुलाई कमेडी मार्फत प्रस्तुत गरिएको छ । यो ‘कमेडी’ मात्र होइन ‘डार्क कमेडी’ हो ।
कस्ता-कस्ता कलाकारहरु जोडिनु भएको छ नाटकमा ?
म भन्दा सिनियर दाइहरू हुनु हुन्छ । जुनियर भाइहरू पनि छन् । कमलमणी नेपाल दाइ र सरिता गिरी दिदी म भन्दा सिनियर हो । नाटक मन्जिरामा हामीले संगै काम गरेका थियौं । प्रविन खतिवडा हुनुहुन्छ । उहाँ हाम्रो सहकर्मी हो । अरु साथीहरु पनि हुनु हुन्छ । जस्तै घनश्याम जोशी , चन्द्र नेपाली, दिपक बराल, आदित्य, राम भजन कामत सबै मेरै सर्कलका कलाकार हुनु हुन्छ । हाम्रो एउटा ग्रुपको बन्डिङ छ त्यो एकदमै राम्रो छ । सबै जना आ-आफ्नो ठाउँमा अब्बल हुनु हुन्छ । सबै आफ्नै सर्कलको भएर एकदमै सहज भएको छ । काम गर्दा आफ्नो ग्रुप, आफ्नो नजिकको मान्छे किन चाहिन्छ यो नाटकबाट मैले फिल गरे । यदि मैले त्यो मान्छेलाई नजिकबाट नचिनेको भए , काम नगरेको भए पहिला उहाँहरुलाई क्यारेक्टरको लागि चिन्नु पर्थ्यो । तर, मैले उहाँहरूसंग धेरै वर्ष देखि काम गरिरहेको छु । मलाई एकदमै सजिलो र सहज भैदिराख्नु भएको छ ।
नारी निर्देशिकाका रूपमा नेपाली रंगमञ्चमा काम गर्दा कस्ता चुनौतीको सामना गर्नुपर्यो, कतिको सजिलो रहेछ ?
काम गर्न त गार्हो छ । रंगकर्ममा मात्र होइन हरेक क्षेत्रमा महिलालाई गार्हो छ । महिला भएर यो काम गर्न अफ्ठ्यारो हुन्छ यो काम गर्न सजिलो हुन्छ भन्ने केही हुँदैन । त्यो सोचमा हुने कुरा हो । गार्हो, अफ्ठ्यारो सहज हरेक काममा पुरुषलाई पनि हुन्छ महिलालाई पनि । रंगकर्मी महिलाहरूलाई त केही समय अघिसम्म हेयको दृस्टिले हेरिन्थ्यो । अझै पनि त्यो सोच परिवर्तन भइसकेको छैन । तर हामी काम गरि राखेका छौ । आउनु पर्छ अझै । हातमा गन्ने मात्र महिला डिरेक्टरको रुपमा निस्किनु भएको छ ।
बहादुरपुर्को दन्त्यकथा अहिलेको समयसँग कतिको सान्दर्भिक छ, राजनीतिक गतिविधि केही जोड्नु भएको छ ?
हाम्रो पश्चिममा पहिला जमिन्दार सिस्टम थियो । धेरै वर्ष भएको छैन जमिन्दारको शासन सकिएको । जमिन्दार पनि कस्तो भने १०० बिघा, ६० बिघाको मौजा हुने । त्यहाँको मान्छेहरुलाई ऋण दिने । नेपालमा जब द्वन्द्वको सुरुवात भयो सबै चिज छोडेर जमिन्दारहरू शहर तिर पसे । सक्ने विदेश पलायन भए । तर उनीहरुको जुन थलो छ, भव्य महलहरू छ, ६० विघा १०० विघा जमिन छ त्यो जस्ताको त्यस्तै छ अझै पनि । तर उहाँहरूको खनजोत गर्ने, चलाई दिने मान्छे कोही छैन। त्यही बस्ने मान्छे हो जो जमिनको भोक चलन गरि रहेको छ । उनीहरुले नै खेतीपती अन्न गरेर जमिन्दारलाई पुर्याइरहनुभएको छ । पठाई रहनु भएको छ । यो हेर्दा हाम्रो राजनीतिक सिनारियोसँग त मेल खायो नि । ठ्याक्कै यो नाटक पनि त्यस्तै छ । एकदमै सम्पति भएको मान्छे , कयौं बिघा र भव्य महल भएको मान्छे खानलाई केही छैन । महलले खान दिदैंन । बाझो जमिनले खान दिदैंन । तपाई आफूले काम नगरुन्जेल कसले दिने र खाने । नेपालको कन्टेष्ट त्यही नै छ । अझै हाम्रो गाउँ तिर हेर्ने हो भने राजनीतिक हिसाबले भन्ने हो भने राणा शासन काललाई पनि लिन सकिन्छ ।
यो नाटक किन हेर्ने ? कस्ता दर्शकले हेर्ने ?
१२ वर्ष मुनिको बालबालिका बाहेक यो सबै दर्शकले हेर्न मिल्छ । १२ वर्ष भन्दा कमको दर्शकहरुले हेर्न नमिल्ने भन्ने पनि छैन । यो कमेडी नाटक हो । बुझ्न सकियो भने १२ वर्षको , ५-६ वर्षको पनि मिल्छ । तर यो अलिकती एडल्ट नाटक हो । नाटक र फिल्म आफू इन्जोए गर्नका लागि हेरिन्छ ।
कलाकार भएर अरुले निर्देशन गरेको नाटकमा काम गर्न सजिलो कि आफैंले निर्देशन गर्न ?
अरुले गराउँदा सजिलो नि । आफूले गर्नु पर्दा अति धेरै तनाव हुन्छ । हुन् त इन्जोए पनि गरिन्छ । आफू याक्टरको रुपमा कम गर्दा टिचर-विद्यार्थी जस्तै फिल हुदो रैछ । किन भने क्यारेकटरको रुपमा मात्रै काम गरिएको हुन्छ । अब आफूले निर्देशन गर्दा सिंगो आफू हुनु पर्यो । त्यसको रोहबरमा अरुलाई काम गराउन पर्यो । आफ्नो मात्रै स्क्रिप्ट कण्ठ गरेर भएन । त्यहाँ भएका सबै क्यारेकटरको स्क्रिप्ट कण्ठ गर्नु पर्यो । त्यसपछी लाइट, कस्टुम, सेटकोलगायत सबै चिज आफैंले हेर्नु पर्यो ।
यो प्लेमा हामीले कमेडी बाहेक के-के हेर्न सक्छौ ?
कमेडी जनराको भएकोले कमेडी छ । डान्स छैन । तर प्लेको लागि चाहिने म्युजिकहरू छ । अलिकती कोरियोग्राफी गरेका छौं । तर डान्स कोरियोग्राफी हैन । प्लेको लागि चाहिने सिनको कोरियोग्राफी छ ।
नाटक कहिले र कहाँ प्रदर्शन हुन्छ ?
यो नाटक करिब १ घण्टा ४० मिनेटको छ । नाटक हरेक दिन बेलुका ५ बजे (सोमबार बाहेक) हुनेछ । शनिबार दिउँसो १ बजे पनि हुनेछ । यही आउँदो पुष ४ गते बाट २७ गते सम्म थापागाउँस्तिथ मण्डला थियटरमा नाटक मन्चन हुनेछ ।
रंगकर्मीहरुलाई नाटक मात्र गरेर जीवनयापन गर्न कठिन छ बाँच्न सकिदैन भन्ने भाष्य निर्माण भएको छ, यहाँले कसरी लिनु हुन्छ ?
बाँच्न नै नसकिने होइन । तर फिल्मको जस्तै झाकीझकाउ दुनियाँ, गाडी, घर, बंगलो रातारात हुँदैन । म आफैं २०/२२ वर्ष देखि रंगमंचमा काम गरिसके । तर घर बंगलो गाडी अझै भैसकेको छैन । तर बाँच्नै नसकिने अथवा एकदमै आर्थिक रुपमा गार्हो भएको अवस्था छैन । तपाईं काम गर्दै जानुस् । काम गर्दै जाँदा कुनै समयमा राम्रो हुन्छ कुनै समयमा नराम्रो । जस्तै सौगात मल्ल पनि थियटर आर्टिस्ट हो । अहिले मुभिमा व्यस्त हुनुहुन्छ । उहाँको कलाकारिता राम्रो भयो । फ्यूचर पनि राम्रो भयो । जस्तै विजय बराल मण्डलाकै थियटरको आर्टिस्ट हो । अहिले हाइपमा हुनु हुन्छ । बाँच्नै नसक्ने भाष्य होइन तर तपाईंले कुन रुपमा काम गर्नु हुन्छ ? प्यासन तपाईंले कति गर्न सक्नु हुन्छ ? मेहेनत कति गर्नु हुन्छ ? त्यसमा भर पर्छ ।

नेपाली रंगमन्चको भविष्य कस्तो देख्नु भएको छ ? सरकारबाट के अपेक्षा गर्नुभएको छ ?
संगीत नाट्य एकेडेमी छ । सबै थोक छ । प्रज्ञाहरु हुनु हुन्छ । तर सोचे जस्तो भएको छैन । मण्डला, शिल्पी, कौशी, सर्वनाम जस्ता थिएटर छन् । ती सबै प्राइभेट हुन् र पर्सनल गरी राखेका छन् । नेपाल सरकारको राष्ट्रिय नाच घर छ । जसरी हामीले प्राइभेट गरिरहेका छौं त्यसरी नेपाल सरकारले गर्नलाई गार्हो छ । किन भने सरकारले प्लानिङहरु राम्रोसँग गरेको छैन । नेपाल सरकारले आफ्नो प्रोजेक्ट ल्याउँदा पनि सिमित मान्छे मात्र पुगिराखेका छन् । सिमित काम मात्र भैरहेको छ । प्राइभेट थियटरहरू आफ्नै हिसाबले अगाडि बढिरहेका छन् । सरकारले सबै थियटरलाई सरकारीकारण गरौं तपाईंहरु थियटर चाहिँ आफ्नो हिसाबले गर्नुस भन्न पनि सक्थ्यो नी।
इन्डियाका हरेक सिटीहरुमा भारत सरकारको थियटरहरु छ । जहाँ जानुस् सरकारले नै फेस्टिबल गरेको छ । मान्छेहरु ल्याएको छ । हरेक देशका मान्छेहरु आएका छन् । हरेक सिटीहरुमा घुमाएर राम्रो सँग वेल मेन्टिनेन्स गरेर राख्छ । तर, नेपाल सरकारले किन गर्न सक्दैन ? नेपालले अन्तर्राष्ट्रिय फेस्टिबल गर्यो भने प्राइभेट सेक्टरमा गर्नुपर्छ । जस्तै गुरुकुलले यसअघि जे गर्यो प्राइभेट रुपमा गर्यो । मण्डलाले जे गर्छ सबै आफ्नो प्राइभेट पैसाले गर्छ । खोइ त नेपाल सरकार ?
मलाई सबै भन्दा धेरै चित्त दुख्ने भनेको हामी अरु देशको फेस्टिबलमा जाँदा त्यो देशको सरकारले सबै गरिरहेको हुन्छ । हाम्रो देशमा सधैं प्राइभेट सेक्टरले गरि रहेका हुन्छन् । त्यहाँ सम्मको पहुँच , त्यहाँ सम्मको सोच हुनु पर्यो ।
अन्त्यमा, दर्शकलाइ के भन्न चाहानु हुन्छ ?
मन्जिरा गरिसके पछि एकदमै स्याड भयौं । एकदमै डार्क विषयमा गर्यौ । आउनु पर्छ त्यस्तो विषयहरू पनि । मैले अहिले कमेडी जनरा रोजेको कारण त्यही हो । मान्छेहरूलाई रुवाउन सजिलो छ हँसाउन गार्हो छ । अहिले देशको परिस्थिति हेर्नुस् बाहिर निस्किदा एकदमै दुखद परिस्थिति छ । जेनजी आन्दोलन पछाडि त झन् एकदमै दिक्क लागेको थियो । अनि मैले नाटक चयन गर्दा ह्वाई नो कमेडि ? किन जैले डार्क ? किन जैले रोना धोना ? यस्तो टाइप्सको फिल भएर यसपाली कमेडि मै जाउँ न त , हासौं, एक अर्कालाई हँसाउ भन्ने भयो । मोबाइल अफ गरेर मान्छेले मेरो नाटक हेरेर हाँस्नु भयो भने म त्यो दिन खुसी हुन्छु । म सफल भए भनेर । त्यही भएर मान्छेलाई खुसी बनाउन, हँसाउन नाटक गरेको । हाँस्नका लागि सबैजना आइदिनु है ।


