काठमाडौँ - भारतीय प्रगतिशील नाटककार बादल सरकारको प्रशंसित कृति ‘वल्लभपुरेर रूपकोथा’ ले अब नेपाली रङ्गमञ्चमा नयाँ स्वरूप ग्रहण गरेको छ । नेपाली परिवेश र सामाजिक मनोविज्ञानसँग मेल खाने शैलीमा बिजय विस्फोटद्वारा गरिएको भावानुवाद ‘बहादुरपुरको दन्त्यकथा’ को आधिकारिक पोस्टर आज सार्वजनिक गरिएको छ । जसले दर्शकहरूमा ठूलो उत्सुकता जगाएको छ ।
यो नाटक कुनै साधारण प्रस्तुति मात्र होइन, रङ्गमञ्चले व्यङ्ग्य र हास्यको माध्यमबाट समाजका गहिरा सन्दर्भहरू उजागर गर्ने साहसिक प्रयास हो। ऋणको बोझले दुलोजस्तो बनेका एक शाही वंशज “भूपति” वरिपरि केन्द्रीत कथा आजको वास्तविकता र विडम्बनालाई अत्यन्त सूक्ष्मताबाट छेड्छ ।
नाटकको परिकल्पना तथा निर्देशन सरस्वती चौधरीले गरेकी छिन्। रङ्गमञ्चका वरिष्ठ तथा चर्चित कलाकार कमलमणी नेपाल, प्रवीण खतिवडा, सरिता गिरी, सरस्वती चौधरी, घनश्याम जोशी, राम भजन कामत, दिपल बराल, चन्द्र नेपाली र आदित्य नारायण मिश्रले पात्रहरूलाई जीवन्तता दिनेछन् ।
समुदाय, शाही गाथा र हास्य–व्यङ्ग्यको मिश्रणमा तयार भएको यो प्रस्तुति दर्शकलाई मनोरञ्जनसँगै सोच्न बाध्य पार्ने प्रकारको मानिन्छ। कलाकारहरूको समर्पण र दर्शकको माया मिलेर बनेको यो सिर्जना रंगमञ्चप्रेमीलाई नयाँ अनुभूति दिने अपेक्षा गरिएको छ ।
नाटक २०८२ पुष ४ गतेदेखि २७ गतेसम्म हरेक दिन साँझ ५ बजे (शनिवार दिउँसो १ बजे पनि) सोमबार बाहेक मञ्चन हुनेछ।
सार्वजनिक पोस्टर :-


