सिन्धुपाल्चोक - सिन्धुपाल्चोक क्षेत्र नं. २ मा लामो समय ‘नाति जर्नेल’ पशुपति शम्शेर राणाले राज गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशालीमध्येकै एक नेता शम्शेर काठमाडौंको महाराजगञ्जस्थित हबेलीमै बसेर चुनाव जित्थे।
तत्कालीन समयमा पशुपति शम्शेर क्षेत्र ३ बाट निर्वाचन लड्थे। चुनावको बेला र विकासे कार्यक्रमहरुमा अतिथि बनेरमात्र आफ्नो क्षेत्र पुगेका कारण उनलाई टुरिस्ट उम्मेदवार भनिन्थ्यो।
सिन्धु २ मा नेपाली कांग्रेसले पनि बेला बेला टुरिस्ट उम्मेदवारलाई मौका दिइरह्यो। २०४८ र २०५१ सालमा कांग्रेसबाट विनोद मोक्तान, २०६४ मा भुपेन्द्र थापा सिन्धु २ को उम्मेदवार बने। सिन्धु क्षेत्र १ कार्यक्षेत्र भए पनि क्षेत्र २ मा आएर निर्वाचन लडेका कारण परिणाम उनीहरुको पक्षमा आएन।
नयाँ संविधान जारी भएसँगै क्षेत्र २ को केही भाग र क्षेत्र ३ गाभिएर क्षेत्र नम्बर २ बनेको छ। यहाँ २०७४ मा कांग्रेस–राप्रपा गठबन्धनबाट पशुपति शम्शेर नै उम्मेदवार बने। तर एमालेका रैथाने उम्मेदवार शेरबहादुर तामाङ निर्वाचित भए। २०७९ मंसिरमा भएको निर्वाचनमा भने क्षेत्र १ बाट निर्वाचन लड्दै आएका मोहनबहादुर बस्नेतले गठबन्धनको साथ र व्यक्तिगत प्रभावका आधारमा जित निकाले। यो क्षेत्र २ र ३ को इतिहासमा कांग्रेसका लागि रेकर्ड ब्रेक नै बन्यो।
यसरी नै लामो समय टुरिस्ट उम्मेदवारको मैदान बनेको सिन्धु २ मा यसपटक प्रमुख राजनीतिक दल एमाले, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले रैथाने उम्मेदवारलाई अघि सारेको छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीले भने योपटक टुरिस्ट उम्मेदवारलाई नै अघि सारेको छ। रास्वपाका उम्मेदवार झलक श्रेष्ठ लिसंखुपाखरका व्यवसायी हुन्।
रैथाने उम्मेदवार कति बलिया?
कांग्रेसले अघि सारेका उम्मेदवार बंशलाल तामाङ इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष हुन्। इन्द्रावती-४, नवलपुर निवासी तामाङले स्थानीय तह सञ्चालनको अनुभव बटुलेका छन्। इन्द्रावती र हेलम्बु क्षेत्रमा उनको प्रभाव बलियो रहेको कांग्रेसको दाबी छ। कांग्रेस लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा देखिन्छ।
नेकपा एमालेबाट अनुभवी नेता पूर्वमन्त्री शेरबहादुर तामाङ चुनावी मैदानमा छन्। उनी पाँचौं पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। २०७० र २०७४ मा दुई पटक विजयी भएका तामाङ २०६४ र २०७९ मा भने पराजित भएका थिए। मेलम्ची र पाँचपोखरी क्षेत्रमा उनको पकड बलियो मानिन्छ। एमाले उनलाई पुनः संसद् पठाएर आफ्नो पकड कायम राख्ने रणनीतिमा छ।
नेकपाबाट दुईपटक बागमती प्रदेशसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री युवराज दुलाल उम्मेदवार बनेका छन्। चौतारा साँगाचोकगढी क्षेत्रमा उनको आधार इलाका हो। उनको उम्मेदवारीले त्रिकोणात्मक प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
देशभर रास्वपाको पक्षमा मत बढिरहँदा यो क्षेत्रमा यस पार्टीबाट लिसंखुपाखरका श्रेष्ठलाई उम्मेदवार बनाएको छ। व्यावसायिक पृष्ठभूमिका उनी सामाजिक अभियन्ताका रूपमासमेत परिचित छन्। राप्रपाबाट इन्जिनियर गोपीकृष्ण चौलागाईं उम्मेदवार छन्। उनी भोटेचौरका हुन्।
जानकारहरु यसपटक यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र नेकपाबीच हुने बताउँछन्। कांग्रेसले रैथाने उम्मेदवार, अघिल्लो जितको मनोबल र संगठन सुदृढीकरणलाई आधार बनाएको छ। एमालेले भने अनुभवी नेतृत्व र परम्परागत मत आधारमा भरोसा गरेको छ। नेकपाले एमाले र कांग्रेसका असन्तुष्ट मतदाताको मत तान्ने रणनीति तयार गरिरहेको छ। रास्वपाले देशभर आफ्नो दलप्रतिको वेभ फैलेकोले जित आफ्नो पक्षमा आउने दाबी गरिरहेको छ।
सिन्धु २ मा अब रैथाने उम्मेदवारले विश्वास जित्ला या टुरिस्ट उम्मेदवारले ? स्थानीय विकासको एजेन्डा, व्यक्तिगत प्रभाव, पार्टी संगठन र अन्तिम चरणको चुनावी रणनीतिले यो विषय तय हुनेछ।

