सिन्धुपाल्चोक - श्री जुगे पन्चकन्या आधारभूत विद्यालयले आफ्नो २७औँ वार्षिकोत्सव विविध शैक्षिक कार्यक्रमका साथ मनाएको छ। इन्द्रावती गाउँपालिका - ४ स्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले शैक्षिक प्रदर्शन प्रस्तुत गर्दै उत्साहपूर्ण रूपमा वार्षिकोत्सव मनाएका हुन्।
वार्षिकोत्सवको अवसरमा विद्यालयले जेहेन्दार तथा अनुशासित विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरी सम्मान गरेको थियो। कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र शैक्षिक उपलब्धि झल्किने विभिन्न प्रस्तुति राखिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै इन्द्रावती गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष क्षेत्र बहादुर तामाङले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावकहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताए। उनले सामुदायिक विद्यालयहरूको खस्कँदो शैक्षिक स्तर सुधार गर्न वडाबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक बिनोद तामाङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक अवस्था, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।

