मुगु - मुगुको कार्मारोङ गाउँपालिकामा रहेको नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालयमा छात्रावासको अभाव हुँदा विद्यार्थीको पठनपाठन र स्वास्थ्यमा समस्या देखिएको छ। विद्यार्थीको सङ्ख्या बढ्दै गए पनि आवासीय भवन थप नहुँदा एउटै कोठामा १२ देखि १५ जनासम्म विद्यार्थी कोचिएर बस्नुपर्ने बाध्यता छ।
गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले २०७६ सालमा स्थापना भएको विद्यालयमा अहिले ३५५ जना विद्यार्थी अध्ययनरत छन्। सुरुमा कक्षा ४ र ५ मा १५० विद्यार्थीबाट पठनपाठन सुरु गरिएको विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढे पनि छात्रावासको व्यवस्था भने पर्याप्त हुन सकेको छैन।
छात्रावासमा एउटै कोठामा धेरै विद्यार्थी बस्नुपर्दा राति हल्ला हुने, झैझगडा हुने र शौचालय प्रयोग गर्नसमेत कठिनाइ हुने गरेको कक्षा १० का विद्यार्थी हिक्मत बलमले बताए।
कक्षा ९ की विद्यार्थी प्रेरणा बुढाले विद्यालयको पठनपाठन राम्रो भए पनि आवासीय व्यवस्थापन कमजोर रहेको बताइन्। छात्रावासका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँगै शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले सहयोग गरे विद्यार्थीलाई सहज हुने उनको भनाइ छ।
त्यस्तै, विद्यालयमा लामा समुदायका विद्यार्थीसमेत अध्ययन गर्ने भएकाले भाषा र चाडपर्वसँग सम्बन्धित विषयमा केही व्यावहारिक कठिनाइ हुने गरेको विद्यार्थी चन्द्र बुमीले बताए।
विद्यार्थी बढे, छात्रावास थपिएन ।
मुगुको विकट क्षेत्रमा पर्ने कार्मारोङ गाउँपालिकाका नागरिकलाई शिक्षाको पहुँचमा ल्याउने र शैक्षिक स्तर सुधार गर्ने उद्देश्यले तीनै तहका सरकारको सहयोगमा विद्यालय स्थापना गरिएको थियो। विद्यालयमा केही कक्षाकोठा निर्माण भए पनि छात्रावासको समस्या भने समाधान हुन सकेको छैन।
दुई वर्षअघि ‘छायाँ नेपाल’ नामक संस्थाले छात्राका लागि एकतले, चारकोठे भवन र शौचालय निर्माण गरिदिएको थियो। तर विद्यार्थीको सङ्ख्या बढ्दै गएपछि उक्त भवन पनि पर्याप्त हुन सकेको छैन।
विद्यालयका प्रधानाध्यापक कुशल शाहीले ३५५ जना विद्यार्थीलाई एकै ठाउँमा राखेर पठनपाठन र बसोबासको व्यवस्था मिलाउन कठिन भइरहेको बताए। विद्यालय सञ्चालन भएको ६–७ वर्षमा विभिन्न पूर्वाधार निर्माण भए पनि अहिले छात्रावासको समस्या प्रमुख बनेको उनको भनाइ छ।
उनका अनुसार छात्रावासको समस्या समाधानका लागि विद्यालय प्रशासनले स्थानीय सरकारलगायत सम्बन्धित निकायसँग पहल गरिरहेको छ। कार्मारोङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुवासचन्द्र रावलले पनि छात्रावासको समस्या समाधान गर्न स्थानीय सरकार गम्भीर रहेको बताए। उनले केही समयभित्रै समस्या समाधान हुने अपेक्षा व्यक्त गरेका छन्।
विद्यार्थीको सङ्ख्या बढ्दै जाँदा आवश्यक आवासीय पूर्वाधार निर्माण हुन नसक्नुले विद्यालयको व्यवस्थापनमा चुनौती थपिएको छ। विद्यार्थीलाई सुरक्षित र सहज वातावरणमा राख्न छात्रावास निर्माण तथा शौचालयलगायत आधारभूत सुविधाको विस्तार आवश्यक देखिएको छ।

