Harsamaya
रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

रसुवा - गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीका कारण रसुवाका चार विद्यालयका ४५ विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्।

शिक्षा तथा समन्वय इकाइ धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीले जिल्लाका तीन सरकारी र एक निजी विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्।

पूर्ण क्षति भएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल रहेका छन्।

सम्पर्कविहीन विद्यार्थीमध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५, मालिकादेवी आधारभूत विद्यालयका ११, मोडर्न ट्रिनिटीका आठ र चिप्लेटी आधारभूत विद्यालयका एक जना रहेका छन्।

बाढीबाट प्रभावित अन्य विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ। चिप्लेटीका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँका विद्यालयमा पठाइएको छ।

मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी माध्यमिक विद्यालय भलायडाँडा तथा मोडर्न ट्रिनिटीका विद्यार्थीलाई नीलकण्ठ माध्यमिक विद्यालयमा बसोबाससहित पठनपाठनको व्यवस्था मिलाइएको सिलवालले जानकारी दिए । 

बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिका गाउँपालिकाका विद्यालय पूर्ण रूपमा बन्द भएका थिए। नौकुण्ड गाउँपालिकामा भने भदौ ११ गतेदेखि नै पठनपाठन सुरु भएको थियो।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update