काठमाडौं - एक समय विवाह नगरी बच्चा जन्माउने अभिव्यक्ति दिएर चर्चामा रहेकी अभिनेत्री नम्रता सापकोटा वैवाहिक जीवनमा बाँधिएकी छन्। उनले बिहीबार ओजस नामक युवकसँग विवाह गरेकी हुन्।
उनको विवाह समारोह नागार्जुन–सितापाइलास्थित निजी निवासमा आयोजना गरिएको थियो। कार्यक्रममा सीमित पारिवारिक सदस्य र नजिकका आफन्तको मात्र उपस्थिति रहेको जनाइएको छ।
नम्रताले बुधबार साँझ मेहन्दी समारोहको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफू विवाह बन्धनमा बाँधिन लागेको जानकारी दिएकी थिइन्। तर उनले आफ्नो श्रीमानबारे थप विवरण सार्वजनिक गरेकी थिइनन्। पछिल्लो समय उनी आध्यात्मिक मार्गतर्फ लाग्दै ओशोका अनुयायी (सन्न्यासी) बनेको चर्चा पनि भइरहेको थियो।
पछिल्लो पटक उनी नम्बरी सुन फिल्ममा देखिएकी थिइन्। नम्रताले सन् २०१३ मा प्रदर्शन भएको अन्तरालबाट फिल्म अभिनयमा डेब्यु गरेकी हुन्। उनले हालसम्म एक दर्जनभन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छन्।

