Harsamaya
पुष १ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

नेकपा एमालेको मतदान स्थगित भएको छ । निवर्तमान महासचिव शंकर पोखरेलले भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको जानकारी दीए । प्रतिनिधिहरू मतदानको लागि २ घण्टाअघिदेखि लाइन बसेका थिए । ९ बजेलाई मतदानको समय तोकिएको थियो । तर, अन्तिममा आएर प्राविधिकरण कारण मतदान स्थगित भएको बताइएको छ ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

पोखरा विमानस्थलका आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रबन्धक एवं  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइ प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको  छ। आयोगले २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ १९ पैसा भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा  गरेको छ। उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोप छ। 

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताएका छन् । आज निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन केन्द्रित सरकारका मन्त्रीसहितको छलफलमा उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नका लागि आयोग निर्वाचन घोषणा भएदेखि नै दृढ अठोटका साथ लागेको र अब पनि दृढ अठोटका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले भने , “राष्ट्रपतिबाट निर्वाचन घोषणा भएको दिनदेखि नै आयोगले शून्यबाट उठेर काम सुरु गरेकामा हालसम्म करिब ७० प्रतिशत काम भएको छ । 

वरिष्ठ नेता कोइराला र सभापति देउवाबीच भेटवार्ता : आज नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ।

क्रियाशील वितरण समितिले नम्बर बिनाका फारम जिल्ला-जिल्ला पठाएको घटना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई लिएर सभापति भेट्न गएका हुन् । 

भेटमा कोइरालाले क्रियाशील वितरण समितिले नम्बर बिनाका फारम जिल्ला-जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या सिर्जना गरेको देउवासामु बताए । कोइरालाले बिना नम्बरका ती फारम तत्काल फिर्ता गरि नयाँ फारम पठाउँन निर्देशन दिन देउवालाई आग्रह गरे । कोइरालाले ती बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया शुरु हुनै नसक्ने तर्क राखे ।

सरकारी कामको निवेदनमा हुलाक टिकट अनिवार्य टाँस्ने प्रचलन खारेज गर्ने सरकारो निर्णय : सरकारले सरकारी कामको निवेदनमा हुलाक टिकट अनिवार्य टाँस्ने प्रचलन खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको जनकारी दिए ।  

यस्तै बैठकले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएको भारतीय रुपैयाँ (भारु) २०० तथा ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारु २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृत दिने निर्णय गरेको छ ।

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल : 

पाकिस्तानको एक आतङ्कवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ । उक्त सजाय एक वर्षभन्दा बढी समयअघि देशका तत्कालीन प्रधानन्यायाधीशको हत्याका लागि सार्वजनिक रूपमा आह्वान गरेको घटनासँग सम्बन्धित रहेको अदालतका अधिकारीहरू तथा प्रतिरक्षा पक्षका वकिलले मङ्गलबार जानकारी दिएका छन् ।

प्रतिबन्धित तहरीक–ए–लब्बैक पाकिस्तान (टिएलपी) पार्टीका नेता जहीरुल हसन शाहलाई गत वर्ष पक्राउ गरिएको थियो । उनीमाथि सामाजिक सञ्जालमा एक भिडियो प्रसारित गरेको आरोप लागेको थियो, जसमा तत्कालीन प्रधानन्यायाधीश काजी फैज इसाको टाउको काट्ने जो कोहीलाई पनि एक करोड पाकिस्तानी रुपैयाँ (करिब ३६ हजार अमेरिकी डलर) इनाम दिने घोषणा गरिएको थियो ।

 

 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  २२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update