काठमाडौं - आज नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ।
क्रियाशील वितरण समितिले नम्बर बिनाका फारम जिल्ला-जिल्ला पठाएको घटना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई लिएर सभापति भेट्न गएका हुन् ।
भेटमा कोइरालाले क्रियाशील वितरण समितिले नम्बर बिनाका फारम जिल्ला-जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या सिर्जना गरेको देउवासामु बताए । कोइरालाले बिना नम्बरका ती फारम तत्काल फिर्ता गरि नयाँ फारम पठाउँन निर्देशन दिन देउवालाई आग्रह गरे । कोइरालाले ती बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया शुरु हुनै नसक्ने तर्क राखे ।
अनुशासन कारबाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरि पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखे । २०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो ।

