Harsamaya
मंसिर २८ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

सञ्चार मन्त्रीको संयोजकत्वमा समिति गठन: नेपाल सरकारले दुर्गा प्रसाईं नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान' ले उठाएका मागहरू सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ।प्रधानमन्त्रीको स्वकीय सचिवालयले महाअभियानलाई पत्र पठाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा ३ सदस्यीय ‘आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति’ गठन गरेको जानकारी दिएको हो।प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा महाअभियानले उठाएका तत्काल सम्बोधन गर्न सकिने विषय तथा मागहरूका सम्बन्धमा वार्ता गर्न समिति बनाइएको उल्लेख छ।

मनोनयन सोमबार बिहान: नेकपा एमालेको ११औं महाधिवेशनबाट नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ । आइतबार निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले निर्वाचन कार्यक्रम प्रकाशित गरेका हुन् । कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन मंसिर २९ गते सोमबार बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोमबार साँझ ६ बजे हुने र मतदान पर्सि मंगलबार बिहान १० देखि ५ बजेसम्म गर्ने कार्यतालिका छ ।

७६ वर्षको कम्युनिष्ट यात्रा : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्षमा प्रवेश गर्दा, कम्युनिष्ट आन्दोलनको मुख्य धारा मानिएको नेकपा (एमाले) ऐतिहासिक उतारचढाव पार गर्दै ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ। विभिन्न विभाजन, वैचारिक बहस र नेतृत्व परिवर्तनका बाबजुद एमाले नेपाली राजनीतिमा निर्णायक शक्तिका रूपमा उभिँदै आएको छ। पुष्पलाल श्रेष्ठको नेतृत्वमा विसं २००६ वैशाख १० गते भारतको कोलकाताबाट सुरु भएको नेपाली कम्युनिष्ट आन्दोलन विश्व कम्युनिष्ट आन्दोलनको प्रभाव, अक्टोबर क्रान्तिको प्रेरणा र राणा शासनविरुद्धको जनचेतनाबाट जन्मिएको थियो।

हेटौँडामा मुख्य सडक विस्तार: हेटौँडा उपमहानगरपालिकाले शहरका मुख्य सडकहरूको विस्तार गर्ने तयारी थालेको छ । उपमहानगरपालिकाको यो योजनाअन्तर्गत सडकको मूल भाग (केन्द्र रेखा) बाट दायाँ र बायाँ दुवैतर्फ २५–२५ मिटरभित्र पर्ने संरचना हटाइने जनाइएको छ । यस योजनाको सबैभन्दा संवेदनशील पक्ष भनेको ०३१ सालमै सडक प्रयोजनका लागि मुआब्जा लिएर बनेका घर तथा भवनहरू पनि उक्त मापदण्डभित्र पर्नु हो । करिब ५१ वर्षअघि राज्यबाट मुआब्जा लिएर जग्गामा निर्माण गरिएका संरचनाहरू अहिले आएर पुनः सडक विस्तारका नाममा भत्काउनुपर्ने अवस्थामा पुगेका छन्।

लोपोन्मुख ग्रामीण महिला पहरीको दैनिकी दिपेन्द्रको क्यामेरामा कैद: दिनभर ग्रामीण भेगका महिलाले कति काम गर्छिन् ? बिहानदेखि साँझसम्म एकछिन फुर्सद ननिकालि काम गर्ने महिलाले कति आम्दानी गर्छिन् ? यो महिला अधिकारवादी र मानवअधिकारवादीहरूले सधैं चर्चा गर्ने वियष हो । तर, बिडम्बना दिनभर काम गर्ने महिलाहरूले एक पैसा पनि कमाउन्न । भनौं उनीहरूको कामको कुनै मूल्याकंन छैन । घरायसी काम गर्ने महिलाको कामलाई अर्थतन्त्रमा कसरी जोड्न सकिन्छ यसैलाई झकझक्याउन पत्रकार दिपेन्द्र ढुंगानाले  फोटो मार्फत देखाउन खोजेका छन् । नेपाल मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा चलचित्र विकास बोर्डमा फोटो प्रदर्शनी भइरहेको छ । 

साफ क्लब महिला च्याम्पियनसिप : साफ क्लब महिला च्याम्पियनसिपको आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले पाकिस्तानको कराँची सिटी एफसीलाई पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० ले पराजित गरेको हो । आजको खेलमा एपीएफको जितका रश्मिकुमारी घिसिङले गरेको गोल नै निर्णायक बन्न पुग्यो । उनले खेलको ५२औं मिनेटमा गोल गरेकी हुन् भने पेनाल्टी बक्स बाहिरबाट मिडफिल्डर रेनुका नगरकोटेले दिएको हाइ बललाई उनले सिक्स यार्ड बक्सबाट सहजै हेडर गर्दै गोलमा परिणत गरेकी थिइन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update