काठमाडौं - दिनभर ग्रामीण भेगका महिलाले कति काम गर्छिन् ? बिहानदेखि साँझसम्म एकछिन फुर्सद ननिकालि काम गर्ने महिलाले कति आम्दानी गर्छिन् ? यो महिला अधिकारवादी र मानवअधिकारवादीहरूले सधैं चर्चा गर्ने वियष हो । तर, बिडम्बना दिनभर काम गर्ने महिलाहरूले एक पैसा पनि कमाउन्न । भनौं उनीहरूको कामको कुनै मूल्याकंन छैन ।
घरायसी काम गर्ने महिलाको कामलाई अर्थतन्त्रमा कसरी जोड्न सकिन्छ यसैलाई झकझक्याउन पत्रकार दिपेन्द्र ढुंगानाले फोटो मार्फत देखाउन खोजेका छन् । नेपाल मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा चलचित्र विकास बोर्डमा फोटो प्रदर्शनी भइरहेको छ । मंसिर २५ बाट सुरु भएको सो प्रदर्शन २९ गते भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा समापन गरिनेछ ।
दिपेन्द्रले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको पहरी गाउँकी राधिका पहरीको दैनिकी क्यामेरामा कैद गरेका छन् । राधिका बिहानदेखि साँझसम्म् काममा व्यस्त हुन्छिन् तर उनको आम्दानी शुन्य छ । उनले गरेको कामले नेपालको अर्थतन्त्रमा खाशै फरक परेको छैन । घरायसी कामका लागि विदेश जाने नेपालीहरूले लाखौं कमाउँछन् तर आफ्नै देशमा सो काम किन सित्तैमा गरिरहेका छन् यसको उतर खोज्न पनि यो फोटो प्रदर्शनीमा राखेको पत्रकार ढुंगाना बताउँछन् ।
तीन छोराछोरीकी आमा पहरीले न विवाह दर्ता गरेकी छिन् न नागरिकता नै लिएकी छिन् । यो देशको अ (नागरिक) पहरीले आफ्ना बालबच्चालाई समय नै दिन भ्याएकी हुन्न । पहरी मात्रै होइनन् यो हरेक ग्रामीण महिलाको दैनिकी हो । जो काममा त खटिन्छन् तर आर्थिक रुपमा कमजोर हुन्छन् ।

