काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्षमा प्रवेश गर्दा, कम्युनिष्ट आन्दोलनको मुख्य धारा मानिएको नेकपा (एमाले) ऐतिहासिक उतारचढाव पार गर्दै ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ। विभिन्न विभाजन, वैचारिक बहस र नेतृत्व परिवर्तनका बाबजुद एमाले नेपाली राजनीतिमा निर्णायक शक्तिका रूपमा उभिँदै आएको छ।
पुष्पलाल श्रेष्ठको नेतृत्वमा विसं २००६ वैशाख १० गते भारतको कोलकाताबाट सुरु भएको नेपाली कम्युनिष्ट आन्दोलन विश्व कम्युनिष्ट आन्दोलनको प्रभाव, अक्टोबर क्रान्तिको प्रेरणा र राणा शासनविरुद्धको जनचेतनाबाट जन्मिएको थियो। १०४ वर्षे जहानियाँ राणाशासन अन्त्यको सङ्घर्ष चलिरहेकै बेला स्थापना भएको नेकपाले राजनीतिक चेतनाको नयाँ अध्याय खोल्यो।
नेकपाको पहिलो महाधिवेशन २०१० सालमा पाटनमा सम्पन्न भई मनमोहन अधिकारी महामन्त्री चयन हुनुले पार्टीलाई संस्थागत बनाउने आधार तयार गर्यो। दोस्रो महाधिवेशनपछि पार्टीभित्र प्रजातन्त्र र राजतन्त्रको विवाद चर्कियो, जसले कम्युनिष्ट आन्दोलनलाई वैचारिक सङ्घर्षतर्फ धकेल्यो।
पञ्चायतकालीन दमनका बीच सम्पन्न तेस्रो महाधिवेशनदेखि २०४६ सालपछिको चौथो महाधिवेशनसम्म आइपुग्दा कम्युनिष्ट आन्दोलन बहुदलीय प्रतिस्पर्धामा प्रवेश गर्यो। चौथो महाधिवेशनपछि मदनकुमार भण्डारीको नेतृत्वमा एमाले अलग धारका रूपमा उदायो र ‘जडसूत्रवाद र विसर्जनवादको विरोध’ को नारा अघि सार्दै मार्क्सवादको सिर्जनात्मक प्रयोगमा जोड दियो।
२०४९ सालको पाँचौँ महाधिवेशन एमालेको वैचारिक इतिहासमा निर्णायक मोड सावित भयो। महासचिव भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद’ पारित भएसँगै एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य वैचारिक धारा बन्न पुग्यो।
त्यसपछि भएका छैठौँ, सातौँ र आठौँ महाधिवेशनहरूले पार्टीलाई सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको कालखण्ड हुँदै अघि बढाए। २०७१ सालको नवौँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष निर्वाचित भएपछि पार्टी नेतृत्व थप केन्द्रीकृत हुँदै गयो।
पछिल्ला वर्षहरूमा एमालेले नीति, नेतृत्व र विधानलाई छुट्टाछुट्टै महाधिवेशनमार्फत परिमार्जन गर्दै आएको छ। २०७८ सालपछि सम्पन्न विधान र राष्ट्रिय महाधिवेशनहरूले नेतृत्व चयन, उमेर हद र कार्यकालसम्बन्धी व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरे।
शनिबारबाट सुरु भएको ११औँ राष्ट्रिय महाधिवेशनसँगै एमालेले आफूलाई ‘निर्णायक राष्ट्रिय शक्ति’ बनाउने सङ्कल्प दोहोर्याएको छ। भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ।
७६ वर्ष लामो इतिहास बोकेको कम्युनिष्ट आन्दोलन अहिले फेरि अर्को मोडमा उभिएको छ—जहाँ विगतका विभाजन, वैचारिक बहस र नेतृत्व संघर्षबाट पाठ सिक्दै एमालेले भविष्यको दिशा तय गर्ने चुनौती सामना गरिरहेको छ।

