काठमाडौं- नेपाल सरकारले दुर्गा प्रसाईं नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान' ले उठाएका मागहरू सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयले महाअभियानलाई पत्र पठाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा ३ सदस्यीय ‘आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति’ गठन गरेको जानकारी दिएको हो।
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा महाअभियानले उठाएका तत्काल सम्बोधन गर्न सकिने विषय तथा मागहरूका सम्बन्धमा वार्ता गर्न समिति बनाइएको उल्लेख छ।
समितिमा अजयभद्र खनाल र गोविन्द नारायण तिमिल्सिना सल्लाहकार छन् । सरकारले वार्ताका लागि महाअभियानको तर्फबाट पनि ३ जना प्रतिनिधि सिफारिस गरी पठाउन पत्रमार्फत अनुरोध गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गत मंसिर २२ गते प्रधानमन्त्री र महाअभियानका केन्द्रीय अध्यक्ष लगायतका पदाधिकारीबिच छलफल भएको थियो। सोही छलफल अनुसार आगामी पौष २ गते अर्को बैठक बस्ने सहमति भए बमोजिम सरकारले यो समिति गठन गरेको पत्रमा उल्लेख छ।

