१५ चैतमा तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ । रजक १५ चैत २०८१ मा भएको प्रदर्शनको क्रममा काठमाडौंको तीन कुनेमा मारिएका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
सर्वोच्चको परमादेश: सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। सरकारले शाक्यलाई पदबाट हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेको निर्णयलाई बदर गर्दै अदालतले शाक्यलाई नै पूर्ववत् अवस्थामा काम गर्न दिन आदेश दिएको हो। सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले संक्षिप्त आदेश जारी गर्दै सरकारको निर्णय गैरकानुनी र पूर्वाग्रही भएको ठहर गरेको हो।
मन्त्रिपरिषद् बैठकः सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलका अनुसार उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय भएको छ । यस्तै सरकारले सहसचिव राजेन्द्र कुमार पौडेलको बढुवा गरेको छ । बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले जानकारी दिए ।
एनपीएल विश्लेषण: नेपाल प्रिमियर लिग (एनपिएल)को जारी दोस्रो संस्करणमा लिग चरणका खेल पूरा भएका छन् । यही मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलको लिग चरणमा आठ टोलीबीच कुल २८ वटा खेल भएका थिए । दर्शकको उल्लेख्य उपस्थिति रहेको लिग चरणका २८ खेलमध्ये १५ खेलमा दोस्रो पारीमा ब्याटिङ गर्ने टोली विजयी भए भने १३ पटक पहिलो पारीमा ब्याटिङ गर्ने टोलीले जिते । प्रतियोगितामा हालसम्म विराटनगरले सबैभन्दा ठूलो स्कोर बनाएको छ । उसले पोखराविरुद्ध २२० रन बनाएको थियो भने पोखराले कर्णालीविरुद्ध २०१ रन बनाएको थियो । सुदूरपश्चिमले पोखराविरुद्ध १९३ को उच्च योगफल बनायो ।
मतदान गर्न पाउने: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकहरूले मतदान गर्न पाउने गरी उमेरको हद निर्धारण गरेको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा सोमबार जारी विज्ञप्तिमा मंसिर ५ गतेसम्म देशभर सङ्कलन भएका मतदाताहरूको विवरण अद्यावधिक गर्ने निर्णय आयोगले मंसिर २० गते गरेको हो। आयोगले सङ्कलित मतदाताको विवरण आफ्नो वेबसाइटमा प्रकाशन गर्नेछ। त्यसपछि मतदाताहरूले आगामी २०८२ मंसिर २६ गतेसम्म नामावलीमा रहेका त्रुटि सच्याउन निवेदन दिन सक्नेछन्।
नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड बन्द हुने: नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड मङ्सिर २४ गतेदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई गति दिने लक्ष्यका साथ यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रुपमा सडक बन्द हुने सूचना प्रकाशित गरेको छ ।त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडक खण्ड कालोपत्रे गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ ।
सुनको मूल्य बढ्दा चाँदीको घट्यो: आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ७०० सयले बढेर २ लाख ५२ हजार ९०० रुपैयाँका कारोबार हुँदैछ । आइतबार सुन २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज २० रुपैयाँले घटेर ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

