काठमाडौं - नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड मङ्सिर २४ गतेदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।
ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई गति दिने लक्ष्यका साथ यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रुपमा सडक बन्द हुने सूचना प्रकाशित गरेको छ ।
त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडक खण्ड कालोपत्रे गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । सोही क्रममा सडकको काठमाडौं जिल्लाभित्र पर्ने नागढुङ्गा पिप्ला मोड खण्ड कालोपत्रे उच्च प्राथमिकताका राखिएको छ । यो सडक खण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्रेका लागि एकै पटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुन्छ । यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ ।
सूचनाअनुसार नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन बन्द हुनेछ । सो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई सो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न सूचनामा आग्रह गरिएको छ ।

