सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य सडक विस्तार कार्य रोकेको छ । सर्वाेच्च अदालतबाट यही मङ्सिर १९ गते जारी उत्प्रेषण आदेश आज प्राप्त भएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य हाललाई रोकिएको जनाएको छ । सर्वाेच्च अदालतबाट जारी उत्प्रेषण आदेशलाई सम्मान गर्दै हाललाई सडक विस्तारका लागि डोजर चलाउने कार्य रोकिएको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
कांग्रेस सर्वोच्चमा जानुको सन्देश के हो?: २१ फागुनमा निर्वाचन गर्ने भनी सरकार तयारीमा जुटिरहँदा देशका दुई मुख्य राजनीतिक दल भने संसद् पुनःस्थापनाको पक्षमा उभिएका छन् । २३ र २४ भदौको जेनजी विद्रोहभन्दा अघिको सत्तामा रहेका दलहरू नेकपा एमाले र नेपाली कांग्रेस संसद् ‘ब्यूँताउन’ भन्दै सर्वोच्च अदालत पुगेका हुन् । उनीहरूले छुट्टा-छुट्टै रिट दर्ता गराएका छन् । दुई दिनपहिले अर्थात् शुक्रबार साँझतिर दुई पूर्व प्रधानमन्त्रीबीच संवाद भयो । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न एमाले अध्यक्ष केपी शर्मा धुम्बाराही पुगे । पत्नी राधिका शाक्यसहित देउवा निवास पुगेका ओलीसँग सभापति देउवा र उनकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवाले संवाद गरेका थिए । घण्टौं चलेको संवादमा के कुरा भयो भन्ने बाहिर आएको थिएन। उक्त 'वान अन वान' संवादपश्चात आइतबार कांग्रेस संसद् पुन:स्थापनाको रिट बोकेर सर्वोच्च पुग्यो ।
भ्रष्टाचारमा धमाधम तानिदै विशिष्टहरू: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन मन्त्री, सचिवसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन मन्त्रीहरू डा.रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ । त्यस्तै १० जना तत्कालीन सचिवहरुलाई पनि विपक्षी बनाइएको छ । उनीहरुविरुद्ध ८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । उक्त विमानस्थल निर्माणबारे संसदीय उपसमितिले झन्डै १० अर्ब रुपैयाँ हाराहारीमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । सार्वजनिक लेखा समितिको उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्ष निकालेको थियो ।
जनकपुरमाथि कर्णालीको रोमाञ्चक जित: जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको लिग चरणअन्तर्गत अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा कर्णालीले जनकपुरलाई ३ रनले हराएको हो । कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर पूरा ओभर खेल्दै ७ विकेट गुमाउँदै १२६ रनमा रोकियो । २९ रन जोड्दा ४ विकेट गुमाएको जनकपुरलाई संजय कृष्णमूर्तिले अर्धशतक पारी खेले । उनले ३९ बलमा १ चौका र ४ छक्कासहित ५१ रन जोडे ।
बैंकिङ प्रणालीमा थुप्रियो पैसा: लामो समयदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक हुँदा नेपाल राष्ट्र बैंकले पटकपटक विभिन्न उपकरणमार्फत प्रशोचन गरी मुद्रा व्यवस्थापन गर्दै आएको छ । राष्ट्र बैंकले चालू आवको मंसिर २० सम्म विभिन्न अवधिमा नौ खर्ब १७ अर्ब ३९ करोड ५३ लाख रुपैयाँबराबरको तरलता व्यवस्थापन गरेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूले राष्ट्र बैंकमा राखेको स्थायी निक्षेप सुविधा (एसडीएफ)अन्तर्गत पाँच खर्ब १९ अर्ब ३० करोड रुपैयाँ जम्मा भएको छ । यससँगै, अन्य निक्षेप संकलनमा तीन खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । साथै, बैंकहरूको कुल आठ खर्ब ७२ अर्ब ६० करोड रुपैयाँ राष्ट्र बैंकले बोलकबोलमार्फत निश्चित ब्याज दिएर राखेको छ ।
सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी: जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबार परिसरको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार अवलोकन गरेका छन् । सिंहदरबारको भौतिक अवस्था निरीक्षणपछि पूर्वराष्ट्रपति भण्डारीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो संवेदनशील सरकारी संरचनामा भएको क्षति नेपाली जनताका लागि दुखद भएको बताइन् । उनले भनिन्, ‘भदौ २४ गते भएको घटनामा सरकारी भवनहरूमा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि भए ।
अधिकारीलाई थुनामा राख्न विशेषको आदेश: नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश भएको छ । आइतबार विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आइतबार अधिकारीलाई थुनामा पठाउने आदेश गरेको हो । यस्तै विशेषले मुरारी भण्डारीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

