Harsamaya
बैंकिङ प्रणालीमा थुप्रियो पैसा
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- लामो समयदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक हुँदा नेपाल राष्ट्र बैंकले पटकपटक विभिन्न उपकरणमार्फत प्रशोचन गरी मुद्रा व्यवस्थापन गर्दै आएको छ । राष्ट्र बैंकले चालू आवको मंसिर २० सम्म विभिन्न अवधिमा नौ खर्ब १७ अर्ब ३९ करोड ५३ लाख रुपैयाँबराबरको तरलता व्यवस्थापन गरेको छ ।  

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूले राष्ट्र बैंकमा राखेको स्थायी निक्षेप सुविधा (एसडीएफ)अन्तर्गत पाँच खर्ब १९ अर्ब ३० करोड रुपैयाँ जम्मा भएको छ । यससँगै, अन्य निक्षेप संकलनमा तीन खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । साथै, बैंकहरूको कुल आठ खर्ब ७२ अर्ब ६० करोड रुपैयाँ राष्ट्र बैंकले बोलकबोलमार्फत निश्चित ब्याज दिएर राखेको छ । 

बैंकहरूमार्फत प्रशोचन (खिचेर) राखिएको यो रकम राष्ट्र बैंकका लागि दायित्व हो । उक्त रकम राष्ट्र बैंकले तानेपछि हाल बजारमा खुद तरलता (सरप्लस) ४४ अर्ब ७९ करोड ५३ लाख रुपैयाँ रहेको छ । नेपालको वित्तीय बजारमा थप कर्जा प्रवाह हुन नसक्दा लगानीयोग्य पुँजी थुप्रिएको छ ।

तरलता व्यवस्थापन गर्नकै लागि राष्ट्र बैंकले फेरि आज (मंसिर २१) मात्रै ८४ दिनका लागि ९० अर्ब रुपैयाँ निक्षेप संकलनका लागि बोलकबोल आह्वान गर्‍यो । उक्त निक्षेप संकलनमा तोकिएको भन्दा बढी माग परेको बताउँछन्, राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. डिल्लीराम पोखरेल । उनका अनुसार अहिलेको प्रवृत्ति हेर्दा आह्वान गरिएभन्दा बढी रकमका लागि माग आउने सम्भावना छ । 

बजारमा तरलता अधिकको अवस्था अझै केही समयसम्म यथावत् रहने डा. पोखरेलको अनुमान छ । साथै, पछिल्लो समय राष्ट्र बैंकले कर्जा प्रवाहलाई केही खुकुलो बनाइदिएकाले अलिकति कर्जा बढ्न सक्ने अपेक्षा पनि गरिएको उनले जनाए ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  २१:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update