Harsamaya
मंसिर १९ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद कृष्णप्रसाद यादव नियुक्त भएका छन् । ७७ जना सांसदको समर्थनमा दाबी पेस गरेका यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए ।

जेनजी आन्दोलनपछि पहिलफ पटक भेटे देउवा र ओली दम्पती : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज भएको भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । 

हेटौँडामा भोलीबाट सुरु हुने भनिएको सडक विस्तार तत्काल रोक्न सर्वोच्चको आदेश : सर्वोच्च अदालतले हेटौँडामा भएको सडक विस्तारको क्रममा स्थानीय व्यक्तिले मुआब्जा बिना घर भत्काउन नदिन  परेको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले अल्पकालिन आदेश दिँदै तत्काल सडक विस्तार नगर्न भनेको छ ।

विन्दवासिनी कंसाकार समेतले मुआब्जा विना सडक विस्तार रोक्न उत्प्रेषणको आदेश माग गरेर दिएर रिटमा आज अल्पकालीन आदेश दिएर आउँदो २६ गते पेशी तोकेर छलफल गर्ने भन्दै तत्काल सडक विस्तारको कार्य रोक्न आदेश दिएको हो ।

दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन : निर्वाचन आयोगले आगामी चुनावमा प्रत्यक्षतर्फको उम्मेदवारीमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले शुक्रबार दलहरूका नाममा यस्तो निर्देशन जारी गरेको हो ।

आयोगले निर्वाचन प्रणालीमा समावेशी प्रतिनिधित्वका लागि दलहरूले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा एक तिहाइ नघट्ने गरी महिला उम्मेदवार उठाउनुपर्ने बताएको छ । साथै, दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म संसद्मा ४० प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउने नीति अख्तियार गर्न पनि आयोगले दलहरूलाई सचेत गराएको छ । 

एनपिएलः लुम्बिनी लायन्स प्लेअफमा प्रवेश : लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै प्लेअफमा पुगेको हो । 

लुम्बिनीसहित विराटनगर किंग्स, काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेका हुन् । जनकपुर बोल्ट्स,पोखरा एभेन्जर्स, कर्णाली याक्स र चितवन राइनोजको भने प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।

श्रीलंकामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध : हालै आएको विनाशकारी मौसमी प्रकोपका कारण श्रीलंका भरि करिब ८५ प्रतिशत विद्युत आपूर्ति बन्द भएको श्रीलंका सिलोन विद्युत बोर्ड (सिइबी) ले जनाएको छ ।

सिइबीका उप–महाप्रबन्धक नोएल प्रियन्थाका अनुसार प्राकृतिक विपत्तिबाट सिर्जित क्षतिका कारण देशका झन्डै ७० लाख विद्युत उपभोक्तामध्ये ३९ लाखभन्दा बढीको सेवामा अवरोध आएको हो । उनले अधिकांश विद्युत जडान पुनःस्थापित भइसकेको र बाँकी जडानलाई छिट्टै सञ्चालनमा ल्याउने काम भइरहेको जानकारी दिए । 


 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update