Harsamaya
मंसिर ८ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना पश्चात् जिल्ला प्रहरी परिसर काठमाडौंमा जम्मा १०४ वटा जाहेरी दरखास्तहरु प्राप्त भएको जानकारी दिएका छन् । सोमबार पत्रकार भेटघाट कार्यक्रममा उनले हालसम्म सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतका व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत व्यापारिक प्रतिष्ठानका १६ गरेर जम्मा १०४ वटा जाहेरी हालको मितिसम्म जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको बताएका हुन् । 

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू: मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी नवौँ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले युरोपियन युनियनको हरित ऊर्जासम्बन्धी परियोजनाका लागि २५.५८ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यस्तै भैरहवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ खारेज गर्दै सो क्षेत्रमा प्रतिवर्गमिटर भाडादर रु २० रहेकोमा त्यसलाई घटाएर रु ५ कायम गर्ने निर्णय गरेको छ ।

लाभांश सम्बन्धित कम्पनीले नै तिर्नुपर्ने:  धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले बोनस सेयर वितरण गर्दा लाग्ने कर कम्पनीले नै तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि बोनस सेयरमा लाग्ने कर लगानीकर्ताले नै तिर्नुपर्ने व्यवस्था थियो । तर, कुनै कुनै कम्पनीले लाभांश वितरण गर्दा कर आफैँ तिर्दै पनि आएका थिए । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट (दशौँ संशोधन) निर्देशिका, २०२ मार्फत यस्तो व्यवस्था गरेको हो ।

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त: नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । आजको मन्त्रिपरिषद्को निर्णयले अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए । हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जांदैछन् ।

जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द: सप्ताहव्यापरी रुपमा मनाईने मिथिलाको ऐतिहासिक विवाहपञ्चमी महोत्सवलाई मध्येनजर गर्दै जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द हुने भएको छ । महोत्सवको अवसरमा आयोजित मेला भव्य बनाउन आजदेखि तीन दिनका सम्मका लागि बन्द हुने भएको छ । संस्थागत विद्यालयहरु आवद्ध प्याब्सन, एन–प्याब्सन र हिसान जनकपुरधामले संयुक्त रुपमा सूचना जारी गर्दै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

विशेष महाधिवेशन पक्षधरसँग राष्ट्रपतिले भनेः राष्ट्रपति रामचन्द्र पौडेलले आफू राज्यको सर्वोच्च पदमा बसेकाले पार्टीको आन्तरिक विषयमा खुलेर बोल्न निमल्ने बताएका छन् । सोमबार आफूलाई भेट्न शीतलनिवास पुगेका नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूसँग कुरा गर्दै उनले आफूलाई कांग्रेसको चासो र चिन्ता भएपनि बोल्न नमिल्ने बताए । भेटबारे लोकान्तरलाई जानकारी दिँदै लुम्बिनी प्रदेश अध्यक्ष अम्मर पुनले आफूहरूले पार्टीको विषयमा कुरा उठाएको बताए । 

सुदूरपश्चिमसँग कर्णाली ४५ रनले पराजित: नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ४५ रनको जित निकालेको छ । प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो । योसँगै कर्णाली प्रतियोगिताको दोस्रो संस्करणमा सबैभन्दा सस्तैमा समेटिने टिमसमेत बन्यो ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update