Harsamaya
एनपीएलः सुदूरपश्चिमसँग कर्णाली ४५ रनले पराजित

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ४५ रनको जित निकालेको छ । प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो । योसँगै कर्णाली प्रतियोगिताको दोस्रो संस्करणमा सबैभन्दा सस्तैमा समेटिने टिमसमेत बन्यो ।

कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए । छैटौँ नम्बरमा ब्याटिङका निम्ति आएका कप्तान सोमपाल कामीले १४ रन थपे । गुल्सन झा र अर्जुन घर्तीले १३ रन जोडे ।

कर्णालीलाई सस्तैमा समेट्न कप्तान दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले ६ भन्दा तलको इकोनोमीसहित २३ रनमात्र खर्चिए । हर्मित सिंहले दुई विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमका कप्तान ऐरीले सर्वाधिक ३९ रन जोडे । उनले २८ बलमा एक चौका र दुई छक्का प्रहार गरे ।कर्णालीका कप्तान सोमपालले तीन विकेट लिए । मार्क वाट, विपीन शर्मा र युवराज खत्रीको नाममा समान एक विकेट रह्यो ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update