Harsamaya
मंसिर ७ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्स: हर समय/Har Samaya

जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारवाही गर्न माग गरेको छ । आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसंगको छलफलमा जेन जी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषी देखिएकालाई कारवाही गर्न माग गरेको हो । त्यस्तै भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारवाही गर्नुपर्ने उनीहरुले माग गरेका छन् । 

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

प्रसाईं छुटे
सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ । आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो । प्रसाईँका छोरा निराजनले प्रसाईँलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका दिए । अभिव्यक्तिलाई लिएर मात्र प्रसाईंलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लंघन हुने अदालतको आदेशमा भनिएको छ । 

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
 प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा परित्याग गरेका सन्तोष परियारबीच एकताका साथ प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको हो ।डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, सुदन किराती, सन्तोष परियार लगाएतका नेताहरुले पार्टीको झण्डा फहराएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठनको घोषणा गरेका थिए । 

महेश बस्नेतमाथि आक्रमणको प्रयास
पूर्वमन्त्री तथा सांसद महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ । आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुर्व्यवहार गर्न खोजेका थिए ।घटनापछि सुरक्षाकर्मीहरूले तत्काल नियन्त्रणमा लिएर अवस्था सामान्य पारेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका युवाहरू विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संयोग गौतम रहेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा नौ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको सार्वजनिक सम्पत्ति निजी बोर्डिङ स्कुललाई अवैध रूपमा भाडामा दिई दुरुपयोग गरेको आरोपमा आज नौ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगका प्रवक्ता राजेद्रकुमार पौडेलका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, समितिका पदेन सदस्य पोखरा महानगरपालिका–१ का वडाअध्यक्ष शाहारा प्रधानसहित पाँच सदस्यले अञ्जुली आवासीय माध्यमिक विद्यालयलाई सार्वजनिक सम्पत्ति १२ वर्षका लागि अवैध रूपमा भाडामा दिने निर्णय गरेका आरेप छ । उक्त कार्यमा बोर्डिङ स्कुलका सञ्चालक राजु केसी र प्रिन्सिपल सुनिता कुँवर केसी पनि संलग्न रहेको आयोगको ठहर छ ।

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
ब्राजिलका पूर्व राष्ट्रपति जेयर बोल्सोनारोलाई सर्वोच्च अदालतले उच्च भाग्न–जोखिम ठानी शनिबार फेरि हिरासतमा लिएको छ । सन् २०२२ को चुनावपछि वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भालाई सत्तामा आउन नदिन गरिएको योजनामा २७ वर्षको जेल सजाय पाएका बोल्सोनारो हाल कू–प्रयाससम्बन्धी मुद्दामा अपिल चलिरहेको अवस्थामा नजरबन्दमा रहेका थिए । अदालतले उनले आफ्नो खुट्टामा बाँधिएको निगरानी मोनिटर निष्क्रिय पार्न खोजेको ठहर गर्दै यसलाई भाग्ने प्रयासका रूपमा व्याख्या गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसका अनुसार नजरबन्द एउटा निवारक उपाय भए पनि बोल्सोनारोले यसलाई तोडफोड गर्न खोज्नु गम्भीर उल्लंघन हो । 

दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल सात विकेटले पराजित
नेपाल पहिलो दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज श्रीलङ्काको कोलम्बोमा भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा पूरा गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो । जवाफमा भारतले तीन विकेटको क्षतिमा ११७ रन बनायो । भारत र श्रीलंकामा आयोजित प्रतियोगितामा नेपाल र भारतसँगै अष्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिका पनि सहभागी थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update