Harsamaya
ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
ब्राजिलका पूर्व राष्ट्रपति जेयर बोल्सोनारो ।

एजेन्सी - ब्राजिलका पूर्व राष्ट्रपति जेयर बोल्सोनारोलाई सर्वोच्च अदालतले उच्च भाग्न–जोखिम ठानी शनिबार फेरि हिरासतमा लिएको छ । 

सन् २०२२ को चुनावपछि वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भालाई सत्तामा आउन नदिन गरिएको योजनामा २७ वर्षको जेल सजाय पाएका बोल्सोनारो हाल कू–प्रयाससम्बन्धी मुद्दामा अपिल चलिरहेको अवस्थामा नजरबन्दमा रहेका थिए । 

अदालतले उनले आफ्नो खुट्टामा बाँधिएको निगरानी मोनिटर निष्क्रिय पार्न खोजेको ठहर गर्दै यसलाई भाग्ने प्रयासका रूपमा व्याख्या गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसका अनुसार नजरबन्द एउटा निवारक उपाय भए पनि बोल्सोनारोले यसलाई तोडफोड गर्न खोज्नु गम्भीर उल्लंघन हो । अदालतले सार्वजनिक गरेको भिडियोमा बोल्सोनारोले ‘जिज्ञासावश’ मोनिटरमा सोल्डरिङ उपकरण प्रयोग गरेको स्वीकार गरेको देखिन्छ, जहाँ यन्त्र क्षतिग्रस्त र जलेको देखिए पनि अझै उनको खुट्टामै थियो ।

सन् २०१९ देखि २०२२ सम्म देश चलाएका ७० वर्षीय पूर्व नेतालाई गत अगस्टदेखि ब्रासिलियास्थित एक उच्चस्तरीय कन्डोमिनियमभित्र सीमित गरिएको थियो । न्यायाधीश मोरेसले शनिबार बोलाइएको फ्लेभियो बोल्सोनारोको ‘जागरण’ कार्यक्रमले अशान्ति निम्त्याइ बोल्सोनारोको भाग्ने सम्भावनालाई बढाउन सक्ने बताए । फ्लेभियोले समर्थकहरूलाई ‘आफ्नो देशका लागि लड्न’ आह्वान गरेको र सोही कारण वातावरण थप संवेदनशील बनेको उल्लेख गरिएको छ । मोरेसले बोल्सोनारोका कानूनी प्रतिनिधिहरूलाई २४ घण्टाभित्र घटनाबारे व्याख्या पेश गर्न निर्देशन दिएका छन् । 

बोल्सोनारोको घर अमेरिकी दूतावास नजिक रहेको उल्लेख गर्दै न्यायाधीशले उनले राजनीतिक शरण खोज्ने जोखिम बढेको चेतावनी पनि दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिने बोल्सोनारोको मुद्दालाई ट्रम्पले ‘विच हन्ट’ (राजनीतिक प्रतिशोध) भनेका छन् र पछिल्लो घटनालाई ‘धेरै खराब’भन्दै प्रतिक्रिया दिएका दिएका छन् । 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update