प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका विभिन्न तीन वटा समूहसँग छलफल गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरु सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय उठाएका थिए । प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुग्ने जानकारी गराएका थिए । त्यस्तै जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान नसक्ने भएकाले माग पूरा हुनेमा ढुक्न रहन पनि उनले बताए ।
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
सरकारले सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने
सरकारले अन्तरिम अवधिका लाग हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसंग भेरियसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । राहदानीको अभाव देखिएपछि सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसंगै अन्तरिम अवधिका लागि राहदानी खरिद गर्ने तयारी गरेको हो ।
प्रधानमन्त्रीको सचिवहरूलाई निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवहरुलाई शुक्रबार सिंहदरबारमा बोलाएर प्रधानमन्त्री कार्कीले विशेष निर्देशन दिएकी हुन् । उनले सचिवहरुलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार प्रत्यायोजन गरेको र अझै पनि नपुगे थप अधिकार दिन पनि तयार रहेको बताउँदै आफ्नो जिम्मेवारीको कुनै पनि कामका लागि अरुको मुख नताक्न निर्देशन दिइन् । राहदानी, अनुमतिपत्र, कर भुक्तानीजस्ता अत्यावश्यक र उच्च जनसम्पर्क हुने सेवाहरूमा नागरिकको भौतिक उपस्थिति शून्यमा झार्ने गरी ई–गभर्नेन्स प्रणालीलाई युद्धस्तरमा लागू गर्न पनि उनले निर्देशन दिइन् । प्रधानमन्त्री कार्कीले अहिलेको संकटको घडिमा सबै विषयमा सुधार गर्न प्रयास गर्नुपर्ने र युवाहरुको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।
विस्तृत शान्ति सम्झौताको १९ वर्ष
नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भएको छ। तर, द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन्। विसं २०५२ फागुन १ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न २०६३ साल मङ्सिर ५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो। शान्ति सम्झौतापछि देशमा राजनीतिक परिवर्तन भयो। हतियार व्यवस्थापन तथा तत्कालीन माओवादीका लडाकु व्यवस्थापनजस्ता महत्वपूर्ण काम पूरा भयो तर, १८ वर्ष बितिसक्दा पनि द्वन्द्वपीडितले न्याय र पीडकले सजाय पाएका छैनन्। आयोग गठन सम्बन्धी कानून बनाउनै आठ वर्ष लाग्यो । २०७१ आएर मात्रै बेपत्ता पारिएका व्यक्तिको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन बन्यो । दुई–दुई पटक बनेका आयोगले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन सकेनन् ।
एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा
नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ । एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी ‘कमाण्ड’ घोषणा गरिएको हो । पुष्पराज श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय टोली रहेको छ । संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गरे । टोलीमा सहसंयोजकसहित केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले रहेका छन् । टोलीलाई पार्टीका अध्यक्ष ओलीले बधाई दिँदै सपथसमेत गराए ।
पाकिस्तानको रासायनिक कारखानामा विस्फोट
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको आवासीय इलाकामा रहेको रासायनिक कारखानामा शुक्रबार विस्फोट हुँदा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ । औद्योगिक शहर फैसलाबादमा स्थानीय समय अनुसार बिहान लगभग ५:३० मा विस्फोट भएको थियो भने विस्पोटले ठूलो आगलागी निम्त्याउँदा कारखाना नजिकैको अन्य सुविधामा फैलिएको प्रहरीलाई उदृत गर्दै, सिन्ह्वाले जनाएको छ । अग्निनियन्त्रक तथा दमकलकर्मीहरूको सयुक्त नियन्त्रण प्रयासले आगो नजिकैका अन्य घरहरूमा पुग्नबाट रोकेको पनि सिन्ह्वाले उदृत गरेको छ ।
पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स विजयी
नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि १८ रनले विजय हासिल गरेको छ । आज टीयु क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ गरेको पोखराले सुदूरपश्चिमसँग १८ रनले पराजय हुन पुग्यो । सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पच्छाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो । पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय खेले तर जित हासिल गर्न सकेनन् । यस्तै, कुशलले ३२ बलमा ५३ रन, जिम्मी निशमले ४७ रन, ड्यान डाउथवैट ३७, दीनेश खरेल ६, एडम रोसिङटोन १, किरण ठगुन्ना ९, सुमीत वर्मा ६ र अभिषेख तिवारी ३ रन बनाए । यसैगरी आकाश चन्द १ र विपिन खत्री ७ रनमा अविजित रहे ।
यो पनि पढ्नुहोस


