Harsamaya
प्रधानमन्त्रीको सचिवहरूलाई निर्देशन - आफ्नो जिम्मेवारीको कुनै पनि कामका लागि अरुको मुख नताक्नूस्
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवहरुको बैठक ।

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छिन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवहरुलाई शुक्रबार सिंहदरबारमा बोलाएर प्रधानमन्त्री कार्कीले विशेष निर्देशन दिएकी हुन् । उनले सचिवहरुलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार प्रत्यायोजन गरेको र अझै पनि नपुगे थप अधिकार दिन पनि तयार रहेको बताउँदै आफ्नो जिम्मेवारीको कुनै पनि कामका लागि अरुको मुख नताक्न निर्देशन दिइन् । 

राहदानी, अनुमतिपत्र, कर भुक्तानीजस्ता अत्यावश्यक र उच्च जनसम्पर्क हुने सेवाहरूमा नागरिकको भौतिक उपस्थिति शून्यमा झार्ने गरी ई–गभर्नेन्स प्रणालीलाई युद्धस्तरमा लागू गर्न पनि उनले निर्देशन दिइन् । प्रधानमन्त्री कार्कीले अहिलेको संकटको घडिमा सबै विषयमा सुधार गर्न प्रयास गर्नुपर्ने र युवाहरुको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन् । 

त्यस्तै उनले पुँजीगत बजेट कार्यान्वयनलाई उच्च प्राथमिकता दिएर यसको मासिक प्रगति अनुगमन गरी खर्चमा ढिलाइ गर्ने वा अवरोध सिर्जना गर्ने आयोजना प्रमुख वा जिम्मेवार कर्मचारीमाथि कडाइका साथ कार्यसम्पादन करार लागू गरी तत्काल स्पष्टीकरण र कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update