Harsamaya
मंसिर ४ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

मुस्ताङका स्थानीय जनप्रतिनिधिले मुस्ताङको उपल्लो क्षेत्रमा कायम रहेको निषेध फुकुवा गर्न माग गरेका छन् । जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङको नेतृत्वमा आएको जनप्रतिनिधिहरूको टोलीले बिहीबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरी विदेशी पर्यटकसँग लिइँदै आएको शुल्क पनि हटाउनुपर्ने माग राखेको हो ।

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

सेना परिचालन गर्न सिफारिस: आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरिएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 छानबिन समितिले बुझायो प्रतिवेदन: नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदन बुझ्दै मन्त्री खरेलले मन्त्रालयको आन्तरिक प्रयोजनका लागि समिति गठन गरिएको उल्लेख गर्दै प्रतिवेदनका आधारमा नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया अवरुद्ध नहुने स्पष्ट पारे । उनले भने ,“नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा प्रतिवेदन आफैले अवरोध गर्दैन, नेपाल टेलिकम कानूनको परिधिभित्र रहेर राम्रो निर्णय गर्नका लागि स्वतन्त्र छ ।”

विवाह पञ्चमी महामहोत्सव सुरु: जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सव आजबाट सुरु भएको छ । आज पहिलो दिन नगर दर्शन कार्यक्रम छ । सप्ताहव्यापी  विवाह पञ्चमी महोत्सवको आज नगर दर्शन, शुक्रबार फूलबारी लीला, ६ गते धनुष यज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १०  गते रामकलेवा विधिसहित समापन हुनेछ । जानकी मन्दिर क्षेत्र, रङ्ग भूमि मैदान तथा बाह्र बिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम तीव्र गतिमा भइरहेको छ ।

केन्द्रीय समिति बैठक स्थगित: नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आजलाई बोलाइएको बैठक शनिबारसम्मका लागि स्थगित भएको हो ।  असोज २८ गतेबाट शुरु भएको महाधिवेशन केन्द्रित बैठक निष्कर्षमा पुग्न नसकेरे बस्दै स्थगित हुँदै गरेको छ । पार्टीमा महाधिवेशनको मितिबारे एकमत छैन । यही विषयमा निष्कर्षमा पुग्न थप छलफलका लागि बैठक एक साता स्थगित गरेर आजका लागि डाकिएको थियो ।

बजारमा सुनचाँदीको मूल्य बढ्यो: स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ७०० ले बढेर बढेर २ लाख ४३ हजारमा कारोबार भएको हो । बुधबार सुन २ लाख ४२ हजार ३०० मा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

लुम्बिनीको विजयी सुरूआत: राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा  लुम्बिनी लायन्सले  विजयी सुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । जितका लागि पाएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि गुलबुद्धिन नैबले अविजित ४४ र कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए । बलिङतर्फ चितवनका रिजन ढकालले दुई तथा सोहेल तनविरले एक विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update