Harsamaya
विवाह पञ्चमी महामहोत्सव सुरु : आज नगर दर्शन
जानकी मन्दिर ।

जनकपुर - जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सव आजबाट सुरु भएको छ । आज पहिलो दिन नगर दर्शन कार्यक्रम छ । सप्ताहव्यापी  विवाह पञ्चमी महोत्सवको आज नगर दर्शन, शुक्रबार फूलबारी लीला, ६ गते धनुष यज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १०  गते रामकलेवा विधिसहित समापन हुनेछ ।

जानकी मन्दिर क्षेत्र, रङ्ग भूमि मैदान तथा बाह्र बिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम तीव्र गतिमा भइरहेको छ ।  

विवाह पञ्चमीका मुख्य कार्यक्रमहरू जानकी मन्दिर र बाह्र बिघा रङ्ग भूमि मैदानमै केन्द्रित रहनेछन् । अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रहरूबाट यस वर्ष पनि ठूलो सङ्ख्यामा साधु–सन्त, महन्त, योगी, सन्यासी, भिक्षु र भिक्षुणीको आगमन हुने जानकी मन्दिरले जनाएको छ । जनकपुरधामलाई मिथिलाञ्चलको सांस्कृतिक राजधानीका रूपमा चिनाउने यो महोत्सव वर्षौँदेखि नेपाल–भारत धार्मिक सम्बन्ध मजबुत गर्ने प्रमुख माध्यम रहिआएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update