Harsamaya
पाकिस्तानको रासायनिक कारखानामा विस्फोट, १२ जनाको मृत्यु
पाकिस्तानमा रासायनिक कारखानामा विष्फोट ।

एजेन्सी - पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको आवासीय इलाकामा रहेको रासायनिक कारखानामा शुक्रबार विस्फोट हुँदा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।

औद्योगिक शहर फैसलाबादमा स्थानीय समय अनुसार बिहान लगभग ५:३० मा विस्फोट भएको थियो भने विस्पोटले ठूलो आगलागी निम्त्याउँदा कारखाना नजिकैको अन्य सुविधामा फैलिएको प्रहरीलाई उदृत गर्दै, सिन्ह्वाले जनाएको छ ।

अग्निनियन्त्रक तथा दमकलकर्मीहरूको सयुक्त नियन्त्रण प्रयासले आगो नजिकैका अन्य घरहरूमा पुग्नबाट रोकेको पनि सिन्ह्वाले उदृत गरेको छ । 

प्रहरीका अनुसार विस्फोटको प्रभावले छेउछाउका धेरै घरहरूको पर्खाल तथा छतहरु खसेका थिए भने अधिकांश मृतक र घाइते भएका मानिसहरु क्षतीग्रस्त घरका बासिन्दाहरु रहेका छन् ।

घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको तथा उनीहरु मध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ ।

उद्धार कार्य जारी रहेको उल्लेख गर्दै धेरै मानिसहरू कारखाना भित्र फसेको अनुमान गरिएको हुनाले हताहतको सङ्ख्या बढ्ने आशंका गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update