Harsamaya
कात्तिक २९ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

नेकपा एमाले मकवानपुरले आयोजना गरेको मोटरसाइकल र्‍यालीका लागि तेल कुपन बाँडेको प्रमाण सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ। तस्वीरमा ‘तेलका लागि’ उल्लेख, हस्तलिखित नोट, गोलो छाप र कुपन नम्बर देखिनुले राजनीतिक वृत्तमा ठूलै हलचल आएको छ । र्‍यालीका लागि युवाहरूलाई जुटाउन पठाउ राइडर तथा इन्डाइभ राइडर मार्फत फोन, मेसेज र प्रत्यक्ष सम्पर्क गरेर बोलाइएको दाबी राजावादी नेता दिनेश लामाले गरेका छन् । उनले ‘ र्‍यालीको भीड देखाउन विभिन्न भुक्तानीमार्फत युवालाई परिचालन गरिएको’ आरोप लगाएका छन् ।

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

७७ जिल्लामा नेकपा एमालेको प्रदर्शनसहित सभा सम्पन्न: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले शनिबार कात्तिक २९ मा ७७ वटै जिल्लामा प्रदर्शनसहित जनसभा गरेको छ ।पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत जिल्लास्तरमा जनसभा गरिएको बताए । जिल्ला सभामा पार्टीका केन्द्रीयदेखि शीर्ष नेताहरूले सम्बोधन गरे । उनका अनुसार, यो जनसभामा महासचिव शंकर पोखरेलले बाँकेको नेपालगन्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभामा सम्बोधन गरे ।

पेट्रोल दुई र डिजेलको मूल्य तीन रुपैयाँले बढ्यो: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो । निगमले साविकको खुद्रा बिक्री मूल्यमा  पेट्रोलमा प्रतिलिटर रु २ र डिजेलमा रु ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । यो निर्णयसँगै अब पेट्रोलको मूल्य रु १६१ र डिजेलको मूल्य १४७ रुपैयाँ पुगेको निगमले जनाएको छ । यो मूल्य कातिक ३० गते बिहान १ बजेदेखि कायम हुने समेत निगमले जनाएको छ ।

तीन अर्ब बराबरका दुई  बचतपत्रको बिक्री खुला: सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा बचतपत्रको बिक्री खुला गरेको छ । कार्यालयले रु दुई अर्ब ५० करोड बराबरको ‘नागरिक बचतपत्र–२०८७’ र रु ५० करोड बराबरको ‘वैदेशिक रोजगार बचतपत्र-२०८७’ निष्कासन गर्न लागेको हो । पाँच वर्ष अवधिका यी दुवै बचतपत्र खरिदका लागि आगामी मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मङ्सिर २८ गते निष्कासन हुनेछ । नागरिक बचतपत्रमा छ दशमलव पाँच प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा सात दशमलव पाँच प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ । बचतपत्रको ब्याज हरेक छ/छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा भुक्तानी हुनेछ भने घटीमा रु १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ ।

नदीलाई डम्पिङ साइट बनाएपछि: गाउँबाट नगर हुँदै विशाल शहरको रुपमा समाज विकसित हुँदैछ । तर शहरीकरणबाट उत्पादित फोहोर व्यवस्थापन विकराल समस्या बनेको छ । फोहोरको उचित व्यवस्थापन हुन नसक्दा र मानव बस्ती छेउको नदीमा फोहोर फाल्दा वरपरका गाउँमा विरामीहरुको संख्या बढ्दै गएको छ । विशेषगरी क्यान्सरका रोगीहरु बढी मात्रामा देखिने गरेका छन् । सिरहाको गोलबजार जहाँ दैनिक १२ टन फोहोर उत्पादन हुन्छ । पसल र गुद्री हाट बजारबाट निस्केको प्लाष्टिक र अन्य फोहोरहरु नगरपालिकाले संकलन गरेर स्थानीय गागन नदीमा फाल्ने गर्छ । नगरपालिकाले निश्चित स्थानमा वैज्ञानिक मापदण्ड अनुरुप फोहोर विसर्जन गर्ने ल्याण्डफिल्ड साइट बनाएको छैन् । बजारबाट फोहोर संकलन गर्ने र ट्रयाक्टरमा ओसारेर नदीमा फालिदिन्छ ।

पुनरावलोकनका लागि मार्गप्रशस्त नगरेको उद्योगीको गुनासो: डेडिकेटेड फिडर र ट्रंकलाइनको वक्यौता सम्बन्धी विवादमा उद्योगीहरूले विद्युत् प्राधिकरणले पुनरावलोकनका लागि मार्गप्रशस्त नगरेको गुनासो गरेका छन् । अहिले सबै उद्योगीहरुले वक्यौता वापतको आफ्नो किस्ता रकम तिर्न थालेका छन् । तर उक्त किस्तालाई धरौटी मानेर पुनरावलोकनमा जाने सहमति भएतापनि प्राधिकरणले त्यसलाई अवज्ञा गरेको उद्योगीहरुको गुनासो छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री सुशीला कार्की र ऊर्जा मन्त्री कुलमान घिसिङसहितका अधिकारीहरूसँग गरेको छलफलमा, वक्यौता तिर्नुपर्ने उद्योगीले पहिलो किस्ता बुझाउने र सो किस्तालाई धरौटी मानेर पुनरावलोकनमा जाने सहमति भएको उद्योगीहरूले बताएका छन् ।

विहारमा महागठबन्धन ध्वस्त: विहार विधानसभा चुनाव–२०२५ मा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले प्रचण्ड बहुमत हासिल गर्दै महागठबन्धनलाई भारी पराजय दिएको छ । भाजपा ८९ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ भने जनता दल (युनाइटेड) ८५ सिटसहित दोस्रो स्थानमा रह्यो । एनडीएको अन्य घटक-लोक जनशक्ति पार्टी, हिन्दुस्तानी आवाम मोर्चा र राष्ट्रिय लोक मोर्चाले पनि उच्च सफलता प्राप्त गरे । विपक्षी महागठबन्धनका आरजेडी र कांग्रेसलाई ठूलो क्षति पुगेको छ भने प्रशान्त किशोरको जन सुराज पार्टीले अपेक्षा अनुसार एक सिट पनि जित्न नसकी निराशाजनक प्रदर्शन गर्यो ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update