Harsamaya
७७ जिल्लामा नेकपा एमालेको प्रदर्शनसहित सभा सम्पन्न
एमालेको विरोध प्रदर्शन

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले शनिबार (कात्तिक २९) ७७ वटै जिल्लामा प्रदर्शनसहित जनसभा गरेको छ ।

पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत जिल्लास्तरमा जनसभा गरिएको बताए । जिल्ला सभामा पार्टीका केन्द्रीयदेखि शीर्ष नेताहरूले सम्बोधन गरे ।

उनका अनुसार, यो जनसभामा महासचिव शंकर पोखरेलले बाँकेको नेपालगन्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभामा सम्बोधन गरे ।

यस्तै, रुपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको बिर्तामोडमा सचिव पद्मा अर्याल र कैलालीको धनगढीमा सचिव लेखराज भट्टले सम्बोधन गरे ।

एमालेले भदौ २३ र २४ मा ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधिसभा पुनर्स्थापनालगायत माग गर्दै जनप्रदर्शन र सभा गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रम र एमालेको अबको बाटोका विषयमा कार्यकर्तालाई जानकारी गराउन सभा गरिएको उनले बताए । एमालेले यसअघि यही कात्तिक २२ गते देशका सबै वडामा वडा भेला गरेको थियो । कात्तिक २५ गते ७५३ वटै पालिकास्तरमा भेला सम्पन्न गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update