Harsamaya
एमाले मकवानपुरले मोटरसाइकल र्‍यालीका लागि तेल कुपन बाँडेको विवाद चर्कियो
नेकपा एमाले मकवानपुरको मोटरसाइकल र्‍याली ।

मकवानपुर - नेकपा एमाले मकवानपुरले आयोजना गरेको मोटरसाइकल र्‍यालीका लागि तेल कुपन बाँडेको प्रमाण सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ। तस्वीरमा ‘तेलका लागि’ उल्लेख, हस्तलिखित नोट, गोलो छाप र कुपन नम्बर देखिनुले राजनीतिक वृत्तमा ठूलै हलचल आएको छ ।

र्‍यालीका लागि युवाहरूलाई जुटाउन पठाउ राइडर तथा इन्डाइभ राइडर मार्फत फोन, मेसेज र प्रत्यक्ष सम्पर्क गरेर बोलाइएको दाबी राजावादी नेता दिनेश लामाले गरेका छन् । उनले ‘ र्‍यालीको भीड देखाउन विभिन्न भुक्तानीमार्फत युवालाई परिचालन गरिएको’ आरोप लगाएका छन् ।

यसैबीच, राप्रपा मकवानपुरका जिल्ला अध्यक्ष सागर थापाले भने, ‘क्षेत्रमा जम्मा १० हजार भोटर छन्, तर एमालेले १० हजारभन्दा धेरै युवालाई किनेर र्‍यालीमा उतार्यो। यस्तो पैसा–प्रलोभनको राजनीति प्रजातान्त्रिक संस्कारको अपमान हो ’ भनेर असन्तुष्टि व्यक्त गरेका छन् ।

थापाका अनुसार र्‍यालीमा प्रदेश सभा, नगरपालिका तथा विभिन्न मन्त्रालय र सरकारी कार्यालयका कर्मचारीसमेत सहभागी भएको दाबी गरिएको छ । सार्वजनिक सेवामा कार्यरत कर्मचारीले राजनीतिक कार्यक्रममा खुलेर सहभागी भएको भन्दै आचारसंहितामाथि पनि प्रश्न उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि यसमा कडा आपत्ति जनाएको छ। रास्वपाका स्थानीय प्रतिनिधिहरूले भने, ‘मोटरसाइकल  र्‍यालीको नाममा हेटौडाको मुख्य सडक अवरुद्ध गर्नु एमालेको दादागिरी हो। जनताको आवाज, यातायातको सहजता र नागरिक अधिकारको सम्मान बिना यस्तो शक्ति प्रदर्शन लोकतन्त्रको मर्यादा विपरीत छ’ भनी टिप्पणी गरेका छन् ।

एमाले निकट कार्यकर्ताहरूले भने कुपनको प्रामाणिकता नै शंकास्पद भएको, सामाजिक सञ्जाललाई पार्टीविरुद्ध प्रयोग गरिएको दाबी गर्दै घटनालाई फरक रूपमा व्याख्या गरेका छन् ।

युवालाई इन्धन र विभिन्न प्रलोभनमार्फत परिचालन गरिएको आरोप–प्रत्यारोप जोडिँदै गइरहेका बेला स्थानीय प्रशासनले यसबारे प्रारम्भिक तथ्य संकलन भइरहेको जनाएको छ । आधिकारिक स्पष्टीकरण नआएसम्म मकवानपुरको राजनीतिक वातावरण थप तातिने संकेत देखिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update