Harsamaya
हिरासतमा मृत्यु भएका सुनारको शव पाँच दिनपछि आफन्तले बुझे 
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

सुर्खेत - प्रहरी हिरासतमा मृत्यु भएका गंगे सुनारका आफन्तले पाँच दिनपछि उनको शव बुझेका छन् । मृतक सुनारको पोष्टपार्टम रिपोर्ट आएपछि आफन्तले शव बुझेका हुन् । 

विरेन्द्रनगर नगरपालिका– ११ पिपिराका गंगे सुनारको गत शुक्रबार प्रहरी हिरासतमा मृत्यु भएको थियो । ३६ वर्षीय सुनारको हृदयघातबाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले बताए ।

मृतकको पोष्टमार्टमको लागि भेरि अस्पताल नेपालगञ्जबाट फरेन्सिक विज्ञ डाक्टर अर्विन शाक्यको टिम सुर्खेत आएको थियो । मुटुको समस्याले थुनुवाको मृत्यु भएको देखिन्छ ।

मुटुको नली ब्लक भएको रिपोर्टमा देखिएको पोष्टमार्टममा संलग्न चिकित्सकले बताए । लागुऔषध कारोबारको मुद्दामा थुनामा रहेका सुनारको शुक्रबार बिहान मृत्यु भएको थियो ।  

शुक्रबार बिहान बेहोस अवस्थामा फेला परेपछि तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार मृतक सुनार हिरासतमा ७८ दिनदेखि रहेका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update