Harsamaya
वृद्धभत्ता चोरी गर्ने बाबुछोरा पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

रामेछाप - रामेछापको सुनापती गाउँपालिकामा घर फोडेर वृद्धभत्ताको रकम चोरी गरेको आरोपमा प्रहरीले बाबुछोरालाई पक्राउ गरेको छ।

सुनापती गाउँपालिका–२ दिमीपोखरीका ७५ वर्षीय इमानसिंह तामाङको घर फोडी भदौ १८ गते बिहान करिब ६ बजे वृद्धभत्ताको ७८ हजार रुपैयाँ चोरी भएको थियो।

घटनापछि विभिन्न विधि तथा प्रविधिको प्रयोग गरी अनुसन्धान अघि बढाएको प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा सुनापती गाउँपालिका–२ नयाँ पानी ट्याङ्की टोलका ३४ वर्षीय आकाश लामा र उनका १९ वर्षीय छोरा सन्दिप तामाङलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूलाई चोरी भएको रकमसहित पक्राउ गरी रामेछाप जिल्ला अदालतबाट चोरी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update