म्याग्दी - म्याग्दीको बेनी नगरपालिका–२, खबरा बस्ने ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन्।
प्रहरीका अनुसार मनकुमारीकी छोरीका छोरा २६ वर्षीय आशिष बरुवालले सोमबार बिहान करिब ११ः३० बजे धारिलो हतियार प्रहार गरी मनकुमारीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि बरुवाल फरार भएका थिए।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बरुवाललाई बेनी नगरपालिका–२ स्थित हाडेभिरमा भाग्दै गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो।
पक्राउ परेका बरुवाललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान तथा प्रमाण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। घटनाको कारण तथा हत्यामा प्रयोग भएको धारिलो हतियारलगायत विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ।

