Harsamaya
हेरोइनसहित जेनजी आन्दोलनमा कारागारबाट भागेका अभियुक्तसहित  ६ पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौं उपत्यकाका विभिन्न स्थान तथा पर्साबाट खैरो हेरोइन २२९.७८० ग्रामसहित ६ जनालाई पक्राउ गरेको छ।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले भदौ १८ देखि २० गतेसम्म सञ्चालन गरेको अभियानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

भदौ १८ गते खैरो हेरोइन ७५.७८० ग्रामसहित दुई जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा गुल्मी घुर्कोट गाउँपालिका–१ का ३० वर्षीय कस्मिर भुषाल र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१२ का २९ वर्षीय निशान्त रसाईली रहेका छन्।

त्यसैगरी, भदौ २० गते १५४ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका–५ का ४० वर्षीय उपेन्द्र कुमार, काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ का २७ वर्षीय अभिषेक तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ की २० वर्षीया सरला कार्की र भारत मोतिहारी जिल्ला कल्वारी दुवाह थानाका २१ वर्षीय राहुल प्रसाद रहेका छन्। राहुललाई पर्साबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

पक्राउ परेका निशान्त रसाईली कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट भागी फरार रहेको प्रहरी अभिलेखबाट खुलेको छ।

प्रहरीका अनुसार उनी २०७४ साल असार १२ गते कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दामा महाराजगञ्ज प्रहरी वृत्तबाट पक्राउ परेका थिए। कैद भुक्तान गरिरहेका बेला २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट भागेर फरार भएको अभिलेखमा उल्लेख छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन २२९.७८० ग्राम, दुई थान डिजिटल तराजु, १ लाख ६० हजार रुपैयाँ नगद र ६ थान मोबाइल बरामद गरेको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update