Harsamaya
भ्रामक सूचना फैलाउनेमाथि कारबाही, ३०७ सामग्री पहिचान
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - विपद्का समयमा सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक तथा गलत सूचना नियन्त्रण गर्न नेपाल प्रहरीले कारबाही तीव्र बनाएको छ।

नेपाल प्रहरीका अनुसार विभिन्न सामाजिक सञ्जालमा फैलिएका ३०७ वटा भ्रामक सूचना तथा सामग्री कारबाहीका लागि पहिचान गरिएको छ। पहिचान गरिएका सामग्रीमध्ये १६८ वटा हटाइएको प्रहरीले जनाएको छ।

फेसबुकमा ९, टिकटकमा ८, इन्स्टाग्राममा १ लगायतका सामग्री कारबाहीका लागि पहिचान गरिएको विवरण सार्वजनिक गरिएको छ।

प्रहरीले विपद्का बेला अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीले नागरिकमा त्रास र अन्योल सिर्जना गर्न सक्ने भन्दै त्यस्ता सामग्री प्रचार–प्रसार नगर्न आग्रह गरेको छ।

प्रहरीले सूचना सामाजिक सञ्जालमा पोष्ट वा सेयर गर्नुअघि सत्यतथ्य पुष्टि गर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र प्राथमिकता दिन अनुरोध गरेको छ।

‘जाँच गरौँ, अफवाह नफैलाऔँ’ भन्ने सन्देशसहित प्रहरीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार बन्न आग्रह गरेको छ। तथ्यमा आधारित सूचना प्रसार गरेर विपद् व्यवस्थापनमा सहयोग गर्नसमेत प्रहरीले अपिल गरेको छ।

प्रहरीले आपत्कालीन अवस्थामा प्रहरी कन्ट्रोल १००, विपद् १२३४ तथा साइबरसम्बन्धी समस्याका लागि साइबर ब्यूरो ९८५१२८६७७० मा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १५:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update