सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिका–२ कुञ्चोकस्थित श्री महेन्द्र माध्यमिक विद्यालयले आफ्नो ६७औँ वार्षिकोत्सव तथा मूल समारोह मनाएको छ।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य रामबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक अभियन्ता तथा समाजसेवी मोहनबहादुर गिरी प्रमुख अतिथि रहेका थिए । अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी रामबहादुर गिरी र वडाध्यक्ष श्यामबहादुर गिरी विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा विद्यालयले अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी रामबहादुर गिरीलाई १० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मान गरेको छ।
वार्षिकोत्सवका अवसरमा कक्षा १२, एसईई तथा गाउँपालिकास्तरीय परीक्षामा विभिन्न विषयमा शतप्रतिशत उत्तीर्ण नतिजा हासिल गराउन सफल ६ जना शिक्षकलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको छ।
सम्मानित हुनेमा कक्षा १२ को अनिवार्य तथा ऐच्छिक नेपालीतर्फ रामकृष्ण अधिकारी, सामाजिक शिक्षातर्फ प्रयागसिंह एर, स्वास्थ्य तथा शारीरिक शिक्षातर्फ निलकमल राय, शिक्षा र विकासतर्फ अमितकुमार सिंह, एसईईको अर्थशास्त्रतर्फ अमृत खोखाली र कक्षा ८ को गाउँपालिकास्तरीय परीक्षातर्फ सीताराम गिरी रहेका छन्।
कार्यक्रममा प्रधानाध्यापक बद्रीबहादुर तामाङले विद्यालयको शैक्षिक तथा प्रशासनिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान तथा पुरस्कारसमेत वितरण गरिएको थियो।
प्रमुख अतिथि मोहनबहादुर गिरीले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्राविधिक विषय सञ्चालनका लागि समेत सहयोग गर्ने बताए । वडाध्यक्ष श्यामबहादुर गिरीले शिक्षाको विकासका लागि वडाबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

