Harsamaya
कागारबाट छुटेकै दिन जीतबहादुरले गरे पत्नीको हत्या
सांकेतिक तस्वीर: हर समय/Har Samaya

पर्वत - मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । 

मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गएराति कुटपिट गरी हत्या गरेका हुन् ।

कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गएराति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो । 

कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए । उनीलाई स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका थिए । 

अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए । श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् । घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जानकारी दिएको छ ।

उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन्भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update