Harsamaya
भोटेकोशी बाढीपीडितका राष्ट्र बैंकका कर्मचारीको १ लाख ५५ हजार सहयोग
नेपाल राष्ट्रिय कर्मचारी संगठन ।

काठमाडौं - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकले १ लाख ५५ हजार ५ सय ५१ रुपैयाँ सहयोग गर्ने भएको छ।

संगठनको केन्द्रीय समितिले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।

संगठनले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा प्रभावित नागरिकलाई तत्काल उद्धार गरी राहत र उपचारको व्यवस्था गर्न सरकारसँग मागसमेत गरेको छ।

बाढीबाट प्रभावित नागरिक, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी तथा परिवारमा परेको क्षतिप्रति संगठनले ऐक्यबद्धता जनाउँदै राहत वितरण, निःशुल्क उपचार, आवास व्यवस्थापन र पूर्वाधार पुनर्निर्माणमा तत्काल ध्यान दिन सरकारलाई आग्रह गरेको छ।

संगठनले विपद्पछि आउन सक्ने खाद्य संकट तथा सम्भावित महामारीप्रति समेत सचेत रहन सबै नागरिकलाई आग्रह गरेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update