Harsamaya
सामाजिक सञ्जालमा फैलिएको राहत सामग्रीसम्बन्धी हल्ला निराधारः प्रहरी
नेपाल प्रहरी ।

काठमाडौं - नेपाल प्रहरीले भोटेकोशी बाढीपछि राहत सामग्रीका विषयमा सामाजिक सञ्जालमा फैलाइएको अफवाह निराधार र तथ्यहीन रहेको जनाएको छ।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेले रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित जिल्लामा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी भ्रामक प्रचार भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो।

सामाजिक सञ्जालमा नेपाल प्रहरीसहित सुरक्षा निकायले राहत सामग्री आफैँ लिएको, वितरण नगरेको र सामग्री सडेर गएको भन्ने आशयका भ्रमपूर्ण सामग्री फैलाइएको भन्दै प्रहरीले त्यसको खण्डन गरेको हो।

प्रहरी प्रवक्ता काफ्लेले विपद्को समयमा आफ्नो ज्यानको समेत प्रवाह नगरी खोज, उद्धार तथा मानवीय सेवामा खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने र नागरिकमा अविश्वास सिर्जना गर्ने गरी कपोलकल्पित आरोप लगाउनु दुःखद र गैरजिम्मेवारपूर्ण भएको बताए । 

उनले संवेदनशील अवस्थामा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने तथा भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचना प्रचार–प्रसार नगर्न आग्रह गरेका छन् । प्रहरीले विपद्को समयमा नागरिकको जीवन रक्षा, खोज तथा उद्धार र मानवीय सेवामा आफूहरू निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update