Harsamaya
नेपाल-भारत सीमा क्षेत्र सुनसान, आवागमनका लागि परिचयपत्र अनिवार्य
सीमावर्ती क्षेत्र

रौतहट- भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधान सभा निर्वाचनका लागि रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा आवागमन बन्द गरिएको छ ।

भारतको बिहार राज्य सितामढी तथा पुर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते (नोभेम्बर ११ तारेख) का दिन दोस्रो चरणको विधान सभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागी सीमा नाका बन्द गरिएको  रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । उनका अनुसार कात्तिक २५ गते ६ः०० बजे सम्म नेपाल–भारत सीमा नाका बन्द हुने छ ।

नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पुर्णः रूपमा बन्द भएको उनले बताए । तर अहिले एकबाट अर्को देशका नागरिकहरू परिचय खुल्ने आधार देखाएपछि पैदल नै आवागमन गराइएको पाइएको गौरका स्थानीय अमित केशरीले बताए ।

गौरको सीमा क्षेत्र भएर भारतीय नागरिक आफ्नो मताधिकारको प्रयोग गर्नका लागि आधार कार्ड देखाएपछि मात्र भारततर्फ जान दिइएको छ । त्यसै गरी नेपालीहरू भारतबाट स्वदेश फर्किन नागरिकता देखाएपछि सीमा क्षेत्रमा खटिएका एसएसपीले सहज रूपमा आउन दिएको उनले बताए ।

सीमा क्षेत्रमा सुरक्षामा कडाइ गर्दै निर्वाचन अवधिभर सम्भावित अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले दुवै देशका सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा तैनाथी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update